कोरोना विशेष

कोरोना संक्रमित बढेसँगै आईसीयूमा उपचार गर्ने संक्रमित पनि बढे


काठमाडौँ – निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमित हुनेको संख्या पनि बढेको छ । कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आईसीयूको विरामी पनि बढ्न थालेको छ । अहिले सबैभन्दा बढी आईसीयूमा उपचाररत संक्रमित बागमती प्रदेशमा छन्।

एक सातायता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको तथ्यांक हेर्ने हो भने आईसीयूमा उपचार गर्नुपर्ने संक्रमितको संख्या बढ्दै गएको देखिएको छ। दुई साताअघिको तुलनामा अहिले आईसीयूमा उपचाररत संक्रमितको संख्या झण्डै डेढ सयले बढेको छ।

दुई साताअघि २५ असारमा देशभर ५३९ जनाको आईसीयूमा र १६६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। त्यसको एक सातापछि १ साउनमा पनि ५७८ जनाको आईसीयूमा र १७४ जनाको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। आज भने ६८२ जनाको आईसीयूमा र १७५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो एक सातामा भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितको संख्या स्थिर रहे पनि आईसीयूमा उपचार गर्नुपर्ने संक्रमितको संख्या क्रमिक रुपमा बढ्दै आएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, २ साउनमा ५८३ जना, ३ साउन ५६१ जना, ४ साउनमा ५६४ जना, ५ साउनमा ५९२ जना, ६ साउनमा ६२७ जना, ७ साउनमा ६३५ जना र ८ साउनमा ६८२ जना पुगेका छन्।

आज सबैभन्दा बढी बागमती प्रदेशमा ३९६ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ। त्यस्तै, प्रदेश १ मा १३१, गण्डकीमा ७८, लुम्बिनीमा ५३, कर्णालीमा ११, सुदूरपश्चिममा आठ र प्रदेश २ मा पाँच जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या पनि बागमती प्रदेशमै धेरै छ। बागमतीमा ९५, प्रदेश १ मा ५५, गण्डकीमा १५, लुम्बिनीमा लुम्बिनीमा ६, सुदूरपश्चिममा तीन र कर्णालीमा एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। प्रदेश २ मा कसैलाई पनि भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको छैन।

अस्पताल भर्ना भएका संक्रमितको संख्या पनि सबैभन्दा बढी बागमतीमा एक हजार २७२ जना रहेका छन्। यसैगरी, प्रदेश १ मा ७०७, लुम्बिनीमा ३१६, गण्डकीमा १४५, कर्णालीमा ११९, सुदूरपश्चिममा ९५ र प्रदेश २ मा २४ जनाको अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्न थालेकाले कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ। नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न तथा स्वास्थ्य संस्थालाई अक्सिजन र शय्याको व्यवस्था गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ।