कोरोना विशेष

कोरोना संक्रमण नियन्त्रण नभई बाढी पीडितलाई अर्को चिन्ता, सामूहिक बसाइँबाटै संक्रमण फैलने त्राश


काठमाडौँ – कोरोना संक्रमण जोखिमकाबीच सिन्धुपाल्चोक मेलम्चीका बाढि पीडितहरु सामुहिक अस्थाई बसोबासमा छन् । बाढि पहिरो र दुषित वातावरणले मेलम्चीमा सरुवारोगको अर्को महामारीको चिन्ता पनि सुरु भएको छ । बाढी, आउने वितिकै पानीजन्य रोग फैलिने भएकोले सतर्कता अपनाउनु पर्ने चिकित्सकहरुको सुझाव छ ।

मंगलबार साँझबाट आएको मेलम्ची र इन्द्रावती नदीको बाढीले सिन्धुपाल्चोकलाई प्रभावित प¥यो । एउटा सुन्दर बजारलाई छिनभरमै बगरमा परिणत गरिदियो । जसका कारण मेलम्चीबासीहरु विस्थापित भए । अहिले मेलम्ची नगरपालिकामा ६ सयभन्दा बढी स्थानीयवासी नजिकैको इन्द्रेश्वरी माविमा बसेका छन् । निषेधाज्ञामा कोरोना संक्रमणबाट बच्न घरभित्रै बसेका उनीहरुलाई अहिले न स्वास्थ्य मापदण्डको चिन्ता छ नत शुद्ध पानी , खानपानमा नै ध्यान । बाढीपहिरोका कारण घरबाहिर सामूहिक रुपमा अस्थायी बसोबास गर्नेहरुमा कोरोना संक्रमणको उच्च जोखिम हुनुका साथै अन्य सरुवा रोगको समेत जोखिम बढेको छ । जस्तै हैजा, झाडापखला, टाइफाइडलगायतका रोगहरु फैलिन सक्छ । केहि दिन देखि कोरोना संक्रमण घट्दै गएको तथ्याङकले देखाए पनि जोखिम भने उतिकै छ । बाढी पहिरो तथा डुबानमा परेर सामूहिक रुपमा बस्नेहरुलाई मास्क, सेनिटाइटर अथवा साबुनपानीले हात धुने व्यवस्था तथा जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन निरन्तर प्रयास गर्नु पर्ने विज्ञहरु बताउछन् ।

विभिन्न संघसंस्था राहत अभियानमा जुट्दा जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरी पालना गर्न गराउनु पर्दछ । बाढी हुने वितिकै पानीजन्य रोगहरु ब्यापक हुने विज्ञहरु बताउछन् । स्थानीय सरकारले सकेसम्म सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस, बासको व्यस्वस्था मिलाइदिनु पर्ने उनीहरुको भनाई छ ।

मनसुनको सुरुवात मै सिन्धुपाल्चोक मनाङ, डोटीलगायतका विभिन्न जिल्ला बाढी, पहिरो तथा डुबानका कारण विपत्तिमा परेको छ । बाढी र डुबानको अत्याधिक जोखिम रहेका जिल्लाहरु नै कोभिडको पनि धेरै जोखिममा छन् । त्यसैले जनस्वास्थ्यका समस्याहरु झनै बढनसक्ने तर्फ सबै सजग र सतर्क हुनु जरुरी देखिन्छ । साथै राज्यले उनीहरुको जीवन रक्षाको लागी बस्ने उचित व्यवस्था , जनस्वास्थ्य सुरक्षाको लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मीलगायतमा तत्काल व्यवस्थापन गर्न जरुरी छ ।