देश

कोरोनाविरुद्धको खोप माग गर्दै शिक्षकहरु धर्नामा


काठमाडौँ – सबै क्षेत्रमा कार्यरत कर्मचारीहरुले कोरोनाविरुद्धको खोप पाइरहेको बेलामा शिक्षकका लागि पनि खोप उपलब्ध गराउन भन्दै जनकपुरधाममा शिक्षकहरु धर्नामा बसेका छन् । शुक्रबार जिल्ला शिक्षा समन्वय इकाई धनुषाको प्राङ्गणमा कोरोनाविरुद्धको खोप माग गर्दै समुदायिक विद्यालयका शिक्षकहरु धर्नामा बसेका हुन् ।

नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धनुषाका संयोजक रामस्नेही यादवले शिक्षकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु पर्र्ने, स्वयंमसेविका र कर्मचारीको बढेको तलब कार्यान्वयन हुनुपर्ने र विगतमा भएको ३० बुँदै सम्झौता कार्यान्वयन हुनुपर्नेलगायत मागसहित धर्नामा बसेको जानकारी दिए ।

सरकारले स्वयंमसेविका र कार्यालय सहयोगीसहितका कर्मचारीको तलब बृद्धि गरे पनि कार्यान्वयन नगरेको उनको भनाइ छ । उनका अनुसार बाल विकासका शिक्षकलाई संघीय सरकारले आठ हजार दिँदै आएको छ । बाँकी तलब स्थानीय तलहले दिने भनिएको छ । तर, स्थानीय सरकारले त्यसका लागि बजेट छुट्याएका छैनन्, दिन अनाकानी गरिरहेको छ ।

पुराना शिक्षक ऐन संशोधन, तलब भत्ता र ग्रेडवृद्धि, दरबन्दी मिलानलगायत विषयमा सरकारले विगतमा गरेको ३० बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने शिक्षकहरुले बताएका छन् । माग पूरा नभए निरन्तर संघर्षका कार्यक्रम अघि बढाउने उनीहरुको भनाइ छ । सरकारले माग सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने शिक्षकहरुले चेतावनी दिएका छन् । शनिबार आयोजक संस्थाले जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमसमेत राखेका छन् ।