विदेश

कोभिड महामारी सन् २०२२ सम्मै लम्बिन सक्ने डब्लुएचकोओ चेतावनी


काठमाडौँ – विपन्न मुलुकहरूले आफूलाई चाहिने कोभिड खोप नपाएका कारण कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समयसम्म रहन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ । डब्लुएचओका वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले कोभिड महामारी सन् २०२२ को अन्त्यसम्मै लम्बिने देखिएको बताएका हुन् ।

अफ्रिकाका पाँच प्रतिशतभन्दा कम जनसंख्याले कोभिड खोप पाएका छन् । अरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन् । अधिकांश कोभिड खोप उच्च अथवा मध्यम आय भएका देशहरूले पाएका छन् । एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि दिएको अर्डर छोड्न पनि आग्रह गरे । उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन् । सम्पन्न देशहरूले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी ७ लगायतका बैठकमा कोभिड खोप सहयोगबारे आफूहरूले जनाएको प्रतिबद्धताबारे समीक्षा गर्न आवश्यक रहेको पनि उनले औल्याएका छन् ।