खेलकुद

कामना सेवा विकास बैंकको आयोजनामा कामना सेवा फुटसल कप प्रतियोगिता हुने


काठमाडौँ – पुसको ९ र १० गते कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना हुने भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना हुने भएको हो ।

बैंक तथा विभिन्न वित्तिय संस्थालाई समावेश गर्दै पुसको ९ र १० गते प्रतियोगिता आयोजना हुने भएको हो । कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिईयो) प्रविन बस्नेतले सोमबार एक कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक रुपमा घोषणा गर्नुभयो । सञ्चालक सुबेदीले बैंक तथा वित्तिय संस्थाका कर्मचारीको स्वास्थ्यको प्रबद्र्धन गर्न र खेलमैत्री वातावरण निर्माणका लागि फुटसल आयोजना गर्न लागिएको बताउनुभयो ।

प्रतियोगितामा बैंक तथा इन्स्योरेन्स गरि १५ बढी टिमले सहभागीता जनाउनेछन् । लिग कप नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिता काठमाडौंको कालोपुलस्थित धन्यन्तरी फुटसल मैदानमा हुनेछ । प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र सञ्चालन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटिको रहनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक संस्थाले पुस २ गतेसम्म टिम दर्ता गर्न सक्ने बताइएको छ ।