राजनीति

कानुनविद् भन्छन् : तीन तहको निर्वाचन एकैपटक सम्भव छैन्, दलहरुले षडयन्त्र रचे (भिडियोसहित)


काठमाडौँ — संविधानतः समयमै तीन तहको निर्वाचन गर्नुपर्ने दवाब सरकार सामू छ । तर दलहरु समयमै निर्वाचन गर्न आनाकानी गरिररहेका छन् । जसलाई संविधानविद्हरुले निर्वाचन नगराउन दलहरुले षडयन्त्र रचिरहेको आरोप लगाउन थालेका छन् ।

निर्वाचनलाई लिएर यतिबेला राजनीजितक दलहरु जोगिदेखि भैसी र भैसीदेखि जोगी डराएको अवस्थामा छन् । संगठन मजबुत बनाइनसकेको माओवादी केन्द्र मात्रै होइन हालै फुट बेहोरेको नेकपा एमाले समेत भित्रभित्रै निर्वाचनमा पराजय भोग्नुपर्ने हो की भन्ने आंशकामा छ । दलहरुको आनाकानीलाई लिएर कानुविद्हरुले भने दवाब दिन थालेका छन् । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले निर्वाचन हुनै नदिने षड्यन्त्रस्वरुप तीन वटै तहको निर्वाचन एकैचोटी गर्ने प्रस्ताव अघि सारिएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमहान्यायाधिवक्ता बडालले अहिले तीन वटै तहको निर्वाचन एकैचोटी सम्भव छ भन्ने र पछि सुरक्षा लगायतका चुनौती देखाएर तिनै तहको निर्वाचन नगर्ने षड्यन्त्र भईरहेको बताए । देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पु¥याउन लागिएको उनको दावी थियो । बडालले तीन वटै तहको निर्वाचन एकैचोटी गर्ने कुरा व्यवहारिक नभएको पनि उल्लेख गरेका छन् ।

त्यसैगरी पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले सबै तहको निर्वाचन एकैचोटी गर्ने विषयमा सकारात्मक रुपमा छलफल गर्नुपर्ने बताए । तिनै तहको निर्वाचनलाई सँगै गर्ने भन्ने विषयमा कोहीपनि आतंकित हुन नहुने उनको भनाई थियो । आगामी निर्वाचन स्वच्छ, निर्भिक, स्वतन्त्र र बिना खर्च सम्पन्न हुनेगरी छलफल केन्द्रीत गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

त्यस्तै नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीले बैशाख महिनासम्ममा स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने धारणा राखे । तीन वटै तहको निर्वाचन एकैपटक गर्दा झन्झट हुने भन्दै उनले पहिले स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए । स्थानीय सरकार बलियो भएमात्रै प्रजातान्त्रिक प्रणाली बलियो हुने उनको भनाई थियो ।

निर्वाचनलाई पछि धकेल्न विभिन्न बहानाबाजी रचिएको आरोप लाग्दै गर्दा दलहरु भने आन्तरिक छलफलमा जुटेका छन् । सत्ता गठबन्धन पनि आन्तरिक सहमति जुटाएर मात्र निर्वाचनबारे निष्कर्षमा पुग्ने तयारीमा छ ।