देश

काठमाडौँ साक्षर जिल्ला घोषणा, पूर्ण साक्षर बनाउनुपर्नेमा सरोकारवालाको जोड


काठमाडौँ – काठमाडौँ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौँ जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । काठमाडौँमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौँ जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौँ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताउनुभयो ।

उहाँले काठमाडौँ जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागि पर्ने बताउनुभयो । शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौति रहेको बताउनुभयो । श्रोत र साधन पर्याप्त भएपनि यसलाई व्यवस्थापन गर्न नसकेको उहाँले बताउनुभयो ।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ । सोही अनुरुप सोमबार काठमाडौँ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।