मौसम

काठमाडौँ उपत्यकामा यस वर्षकै ठूलो वर्षा, ३८२ घर डुबानमा पर्दा ३८ जनाको उद्धार


काठमाडौँ– काठमाडौँंमा यस वर्षकै ठूलो पानी परेको छ । काठमाडौँमा गएरातिदेखि निरन्तर परेको वर्षाले कयौं घर, बस्ती डुबानमा परेको छ । वर्षाका कारण काठमाडौँका ३८२ घर डुबानमा परेको छ भने ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

काठमाडौँको बल्खु, धोबीखोला करिडोर धुम्बाराही तरकारी बजार, बालाजुस्थित नेपालटार क्षेत्र पुरै डुवानमा परेका छन् । कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र पनि डुबानमा परेका छन् ।

काठमाडौँमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ । यो काठमाडौँ उपत्यकामा परेको यस वर्षको नै धेरै वर्षा हो ।

अविरल परेका वर्षासँगै काठमाडौँका साना तथा ठूला नदीहरुमा पानीको सतह पनि बढेको छ । बाग्मती, विष्णुमती, धोवीखोला, हनुमन्ते खोलालगायतका क्षेत्र आसपासमा बाढीपछि डुबान भएको विवरण प्राप्त भएको छ । भारी वर्षापछि सवारीसाधन सञ्चालन गर्नै अप्ठ्यारो हुने गरी सडक जलमग्न भएका छन् ।