समाचार

काठमाडौँ उपत्यकामा आजदेखि यातायातमा जोर-बिजोर प्रणाली लागू


काठमाडौँ — काठमाडौँ उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ ।

कोभिड–१९ को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासनको संयुक्त बैठकको निर्णयानुसार सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । जसअनुसार जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली लागू गरिएको हो ।

प्रशासनले सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालोमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा भनिएको छ । उक्त आदेश कार्यान्वयनका लागि आज बिहानैदेखि सुरक्षाकर्मीलाई ठाउँठाउँमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जोरबिजोर लागू नहुने सवारी साधन

आदेशानुसार अत्यावश्यक सेवामा प्रयोग हुने र तोकिएका सवारीलाई भने जोरबिजोर प्रणाली लागू हुने छैन । आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने छैन ।

खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन ९चालक सहचालक मात्र० सञ्चालन गर्न पाइने छ ।

परिचयपत्रका आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

यस्तै सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी आदेशमा उल्लेख छ ।