देश

काठमाडौँ उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने


काठमाडौँ – काठमाडौँ उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । सोमबार दिउँसो काठमाडौँ सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने जानकारी गराउनुभयो ।

पराजुलीका अनुसार विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएको–नभएको भनेर नियमित नियमन गर्नुपर्ने छ । जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन् ।

सिडिओ पराजुलीले विद्यालय खोल्नुपूर्व स्थानीय तहहरूले त्यहाँका अभिभावकहरूसँग पनि छलफल गर्नुपर्ने बताउनुभयो । पराजुलीले अहिले धेरै विद्यार्थीहरू अनलाइन कक्षा लिनुबाट बञ्चित भएको भन्दै भौतिक रूपमै कक्षा सञ्चालन गर्नुपर्ने स्थिति रहेको बताउनुभयो ।