राजनीति

काठमाडौँ उपत्यकामा अत्यावश्यकबाहेकका कार्यालयहरु बन्द हुने


काठमाडौँ – काडमाडौँ उपत्यकामा अत्यावश्यकबाहेकका कार्यालयहरु बन्द हुने भएको छ । कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको र निषेधाज्ञा थपिँएसँगै आजबाट काठमाडौँ उपत्यकामा अत्यावश्यकबाहेकका कार्यालयहरु खोल्न नपाइने भएको हो ।
कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द गर्ने निर्णय गरिएको हो। उपत्यकाका तीनै जिल्लामा प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यकबाहेकका कार्यालय बन्द गर्ने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

त्यस्तै, अत्यावश्यक सेवाका कार्यालयमा पनि जनशक्ति घटाउन निर्देशन दिइएको छ। सेवा प्रवाहमा कुनै व्यवधान नआउने गरी न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

बुधबार राति १२ बजेबाट तेस्रो पटक थपिएको निषेधाज्ञा लागू भएको छ। यस पटक तीनै जिल्लाका प्रमखु जिल्ला अधिकारीले १३ जेठसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन्। यसअघि जारी गरिएको निषेधाज्ञा आज सकिँदै थियो।