राजनीति

कांग्रेस महाधिवेशन : सभापतिमा पराजित १० नेताको किन हुन्छ सधैँ चर्चा ? (भिडियोसहित)


काठमाडौँ – भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्ने चाहीँ होइन । र उनीहरु त्यसै—त्यसै सेलाउँछन् भन्ने पनि होइन । यद्दपी नेपाली काँग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेद्वारको भने सधँै चर्चा हुने गरेको छ ।

स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको नेपाली काँग्रेसभित्र पाचौं अधिवेशनमा आएर व्यवस्था परिवर्तन भयो । जतिबेलादेखि पहिलोपटक सभापतिका लागि चुनाव भएको पाइन्छ । जुन महाधिवेशनले बिपीलाई सभापतिमा निर्वाचित ग¥यो भने मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिष्पर्धामा रहे ।

त्यसको तीन वर्षपछि सम्पन्न छैठांै महाधिवेशनमा सुवर्णशमशेर राणा र गणेशमान सिंहबीच प्रतिष्पर्धा भयो । गणेशमानले त्यो महाधिवेशनमा हारिसकेपछि कहिल्यै पनि सभापतिको आकंक्षा देखाएनन् । त्याग र संघर्ष मात्रै गरिरहे । काँग्रेसले समाजवादको नीति पारित गरेको त्यो ऐतिहासिक महाधिवेशनमा सभापतिको लागि जिल्ला जिल्लाबाट मतदान भएको थियो ।

काँग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशनबाट नै हो । त्यति मात्र होइन, सभापतिमा निर्वाचित भए लगत्तै सुवर्णशमशेर राणाले आफ्नो १२ हजार विगाह जग्गा गरीबलाई वितरण गरी बिर्ता उन्मुलनको घोषणा त्यहीँबाट गरिदिए । अर्कोतिर सभापतिका उम्मेद्वार सिंहले त्यसपछि कहिल्यै सभापतिमा उम्मेद्वारी नै दिएनन् । त्यसपछि सातौं महाधिवेशन हुँदा आफ्नै नेतृत्वको क्रान्तिबाट राणा शासन फालेर काँग्रेस दुई तिहाई बहुमतका साथ सत्तामा थियो । बिपीबिरुद्ध भूदेव राई चुनावी मैदानमा उत्रिए । त्यसको केही समयपछि राजाले प्रजातन्त्रमाथि कू गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । जहाँ दलहरुमाथि प्रतिवन्ध लगाइयो ।

त्यसैले आठौं महाधिवेशनका लागि ३० वर्ष कुर्नुप¥यो । झापामा सम्पन्न आठौं महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भए । नवांै महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरी जोशीबीच प्रतिष्पर्धा भयो । दशौं महाधिवेशनमा कोइरालालाई शेरवहादुर देउवा र रामहरी जोशीले चुनौती दिए ।

एघारौं महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेद्वारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरी आचार्यले चुनौती दिए । यसबीच नेपाली काँग्रेस र प्रजातान्त्रिक काँग्रेसबीच एकीकरण भयो । बाह्रौं महाधिवशेनमा कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ मैदानमा ओर्लिए ।

सभापतिमा लगातार दुई पटक पराजित देउवा तेह्रौं महाधिवेशनबाट काँग्रेसको सभापति बने । काँग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने १० नेता सभापति हुन सकेनन् तर पनि काँग्रेसको छैठौं अधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम काँग्रेसजनबीच सधैँ चलिरहन्छ ।