राजनीति

कांग्रेस महाधिवेशन : महाधिवेशनस्थलमा खोप र निःशुल्क एन्टिजेन परीक्षण कति सम्भव


काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ । केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले महाधिवेशनलाई प्रभावित पार्ने शंका रहे पनि स्वास्थ्य मापदण्ड पालन गर्दै महाधिवेशन सम्पन्न हुने भएको छ ।

कोरोना माहामारीका कारण झण्डै एक वर्ष सुनसान बसेका साना ठुला सबै राजनीतिक दल अहिले पार्टी पुर्नसंरचना र नेतृत्व हेरफेरमा व्यस्त छ । कोरोनाको जोखिम उत्तिकै भए पनि पछिल्लो समय कोरोना संक्रमित र मृत्युदरमा कमि आएपछि सर्वसाधरणको सामान्य दैनिकीमा फर्किएका छन भने साना ठूला सबै राजनीतिक दल पार्टीको महाधिवेशनमा जुटे । प्रमुख प्रतिपक्ष नेकपा एमाले र राप्रपाले महाधिवेशन सक्काइसकेका छन् । नेकपा माओवादी केन्द्रले पुष दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका तय भएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसले ठुलै रस्साकस्सीकाबीच प्रदेश २ र १६ जिल्लालाई थाँती राखेरै भए पनि पार्टीको १४ औं महाधिवेसन यहि मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्दैछ । तर सोमबार विश्वभर आक्रमक रुपमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पुष्टि भएसँगै राजनीतिक दलहरुले आफ्ना राजनीतिक गतिविधिहरु के गर्छन भन्ने विषय चासोपूर्ण छ । यसैक्रममा नेपाली कांग्रेसले स्वास्थ्य मापदण्डको पालन गर्दै महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । महाधिवेशनस्थलमा खोप वितरण, निःशुल्क एन्टिजेन परीक्षणको व्यवस्था समेत गरिने जनाएको छ ।

स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालन गर्दै सानो तिनो कार्यक्रमहरु गर्न सकिने विज्ञहरुको तर्क छ । तर डूला आमसभा र कार्यक्रमहरु भने नगर्न विज्ञहरुले सुझाव दिँदै आएका छन् । कोरोनाको स्वरुप अत्याधिक मात्रमा परिवर्तन भएको छ । पछिललो स्पाइक प्रोटिनप्रति लक्षित गरेर खोपहरु बनेका छन ।

यदि स्पाइक प्रोटिन समेत परिर्वतन भए खोपहरु प्रभावकारी नहुने अर्को जटिलता पैदा हुन सक्छ । अहिलेसम्मको अध्ययन प्रतिवेदन र विज्ञहरुको भनाई हेर्दा ओमिक्रोन जति आक्रमक रुपमा फैलिएको छ त्यति घातक नभएको अनुमान छ । तर कोरोनाको नयाँ भेरियन्ट कति संक्रामक र घातक छ यसै अनुमान लगाउन कठिन छ । त्यसैले ठुला भीडभाड सकेसम्म कम गर्दै स्वास्थ्य मापदण्डको पालनातर्फ विशेष जोड दिन जरुरी छ ।