Breaking

कांग्रेस कलहले गठबन्धन संकटमा, भीम रावललाई लेखेट्दै ओली, ठुला दल ठुलै समस्यामा फसे


काठमाडौँ — योबेला उम्मेदवार छनोट र पार्टीभित्रको विवाद समाधान गर्दै निर्वाचनको प्रचारमा जुट्ने बेला हो । तर सत्ता गठबन्धनमा आवद्ध दलसहित प्रमुख प्रतिपक्ष एमाले पनि अन्तरकलहमा फसेको छ । केन्द्रमा सत्ता गठबन्धनबीच चुनावी तालमेल तर तल्लो तहमा तीनै दलहरुबीच विमेल भएपछि स्थानीय तहको निर्वाचनमा २८ प्रतिशतमात्रै गठबन्धन सफल भयो ।

अर्थात ७५३ स्थानीय तहमध्ये २०९ पालिकामा मात्रै गठबन्धनका दलहरुबीच तालमेल जुरेको थियो ।आगामी मंसिर ४ को निर्वाचनका लागि पनि सत्तागठबन्धनमा आवद्ध पाँच दलबीच चुनावी तालमेल गर्दै जाने सहमति केन्द्रले गरेको छ । तर तल्लो तहमा उत्साहभन्दा धेरै बोझ र वितृष्णा मात्रै देखिएको छैन,योपालीको निर्वाचनमा त केन्द्रीय नेतृत्वमै सहमति जुटेको छैन ।चुनावको मुखमा सबै ठूला दल अन्तरकलहमा फसेका छन् ।

सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसभित्र अहिले सबैभन्दा धेरै विवादको बाँध फुटेको छ । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले समानुपातिकसहित प्रत्यक्षमा समेत आफ्नै भागखोस्न थालेपछि अत्तालिएको शेखर पक्षले बुधबार पार्टी कार्यालयमा धर्ना दिएको छ । यसअघि नेतृत्वविरुद्ध खबरदारी सभा नै गरेको उसले ४० प्रतिशत हिस्सा नपाए विद्रोह गर्ने र बागी हाल्ने चेतावनी दिएको छ ।

देशभर गठबन्धन गर्दै जाने विषयमा धेरै जिल्लाका काँग्रेस नेताहरुले असन्तुष्टि जनाएका छन् । नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेको निर्वाचन क्षेत्र डोटीमा नेपाली काँग्रेसका ९ पालिका प्रमुखले गठबन्धन आवश्यक नभएको निष्कर्ष निकाल्दै केन्द्रीय नेतृत्वलाई जानकारी गराएका छन् । केन्द्रले पेल्न खोजे प्रचार पनि नगर्ने र मतदान पनि नगर्ने निर्णय गरेको छ ।बैतडी काँग्रेसले समेत आफ्नो पार्टीले टिकट नपाए गठबन्धन नगर्ने निर्णय गरेको छ ।सभापति देउवाकै गृहजिल्लामा डडेल्धूरामा समेत गठबन्धन नगर्ने नेताहरुको अडान छ ।सल्यान काँग्रेसमा समेत आफुले टिकट नपाए अन्य दललाई नबोक्ने नेताहरुको अडान छ ।

काँग्रेसजस्तै नेकपा माओवादी केन्द्रभित्र पनि अवस्था सन्तोषजनक छैन । देशभरका अधिकांश स्थानमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु माओवादीलाई भोट हाल्न नाक खुम्च्याइरहेका छन् ।यसले हिंसा महसुस गरिरहेको माओवादीभित्र पनि सम्मानजनक हैसियत नपाए काँग्रेसलाई भोट नदिनेको संख्या उत्तिकै छ ।केन्द्रको सहमतिले टिकट नपाउने देखिएपछि धनकुटामा माओवादीका नेताहरुले सामुहिक राजीनामा दिएर पोलिटब्यूरो सदस्य हेमराज भण्डारीलाई स्वतन्त्र उम्मेदवार खडा गरेको छ । केन्द्रीय नेतृत्वसँगको विद्रोहले माओवादीको कलहमात्रै बाहिरिएको छैन, गठबन्धन नहुने स्पष्ट भएको छ ।

समस्या सत्ता गठबन्धनमा आवद्ध दलहरुमा मात्रै होइन, गठबन्धनविरुद्ध एक्लै चुनाव लड्ने तयारीको गरेको नेकपा एमालेभित्र पनि कोकोहोलो मच्चिएको छ । पार्टी विभाजनका बेला अन्तिमसम्म माधवकुमार नेपालको साथमा रहेपनि एमालेमै बसेका १० भाइहरुलाई आत्मआलोचनासहित आएमात्रै टिकट दिने नीतिमा ओली रहेकोविषयले थप संशय उत्पन्न गरेको छ ।नेता भीम रावलको निर्वाचन क्षेत्र अछाममा रावलको विकल्प खोज्न भन्दै केन्द्रीय र जिल्ला नेतृत्व ओली कहाँ पुगेपछि झनै विद्रोहको खतरा छ ।फलतः निर्वाचनका मुखमा सबै ठूला दलभित्र विद्रोह, बागी र अन्तर्घातको सम्भावना पेचिलो बनेको छ ।