राजनीति

काँग्रेस महाधिवेशन तोकिएको मितिमा गर्न असम्भव


काठमाडौँ – देशकै ठूलो प्रजातान्त्रीक पार्टी नेपाली काँग्रेसलाई यतिवेला पार्टीको बैधानिक अस्थित्व जोगाउन धौधौ परिरहेको छ । संविधानत १४ औं महाधिवेशन भदौंभित्रै गर्नुपर्नेछ, तर क्रियाशिल सदस्यताको विवाद समाधान नहुँदा वडा र प्रदेश अधिवेशन स्थगित भएका छन् । तोकिएको महाधिवेशन मिति आउन एक महिना पनि वाँकी नरहेको अवस्थामा पार्टीको बैधानिकता जोगाउन विभिन्न विकल्पहरु बहसमा आएका छन् ।

नेपाली काँग्रेसको महाधिवेशन तोकिएको मितिमा नहुनेमा निश्चित भएपछि नेताहरुले एक अर्कामा आरोप लगाउन थालेका छन् । काँग्रेसको पौडेल पक्षले संस्थापन पक्ष विवाद समाधान गरेर तोकिएको मितिमा महाधिवेशन गर्ने पक्षमा नदेखिएको आरोप लगाएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि अहिलेको केन्द्रीय कार्यसमितिको वैधानिकता सकिने र शेरबहादुर देउवालाई सभापति मान्न नसकिने बताउने गरेका छन् ।

उनले संवैधानिक रुपमा पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएकाले भदौ २३ पछि पार्टीको वडादेखि केन्द्रीय तहसम्मको कार्यसमितिको वैधानिकता नरहने दाबी गरेका छन् । साथै नेता पौडेलले पार्टी वैधानिकता जोगाउन विशेष महाविधेशनको प्रस्ताव अगाडि सारेका छन् ।

क्रियाशील सदस्यता विवाद यथावत् रहे पुराना क्रियाशीलबाट भए पनि महाधिवशेन गराउने, चाँडो छानबिन सकेर ‘फास्ट ट्रयाक’मा वडा, निर्वाचन क्षेत्र र संघको अधिवेशन गराएर भएपनि भदौभित्र महाधिवेशन गर्नुको कुनै विकल्प नभएको पौडेल पक्षको निष्कर्ष छ । त्यसैगरी पौडेल पक्षले विशेष महाधिवेशन गरेर तदर्थ समिति गठन गर्ने र त्यसको अवधि २/४ महिनाको कायम गरेर त्यस अवधिमा महाधिवेशन सम्पन्न गर्ने अर्को विकल्प पनि प्रस्तुत गरेको छ ।

त्यसो त काँग्रेसका शीर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति पनि भएको छ । तर विवाद ज्यादै जटिल भएकोले समाधान भन्दा पनि विकल्पतिर नेताहरुको ध्यान मोडिएको छ ।

अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा नेताहरुबीच सहमति जुट्न सकेको छैन । बुधबार सभापति देउवाको नीजि निवासमा शीर्ष नेताहरुबीचको बैठकमा विवाद समाधान हुने छाट नदेखिएपछि विकल्पका बारेमा छलफल गर्ने र आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल भएको थियो ।

यता संस्थापन पक्षले भने सभापति देउवालाई सरकार र पार्टी महाधिवेशन दुबैतिर ध्यान दिनुपर्ने अवस्था भएकोले उहाँ विवाद बल्झाउन भन्दा फास्ट ट्रयाक’बाट भएपनि तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न लागिपरेको दाबी गर्छन् ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन भदौं १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको तोकिएको मिति हुन असम्भव देखिएको छ ।

त्यसका लागि पौडेल समूहले पेश गरेका फाष्ट ट्रयाक र विशेष महाधिवेशनको अलवा कोरोना काललाई शुन्य समय मानेर मंसिरसम्म महाधिवेहन गर्नेदेखि, भदौ १६ बाट वडा तहको अधिवेशन शुरु गरेर कात्तिकसम्म महाधिवेशन सम्पन्न गर्नेसम्मका विकल्पहरु बहसमा आएका छन् ।।