राजनीति

काँग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा, नेताहरु आ–आफ्नो उम्मेद्वारी सुनिश्चित गराउने दौडधुपमा


काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयो । उहाँले नेपाली काँग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताउनु भयो ।

प्रवक्ता शर्माले प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेशमा २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताउनु भयो । प्रवक्ता शर्माले आजबाट सार्वजनिक रुपमा देखिने ढंगको प्रचारप्रसार र आन्तरिक रुपमा गर्नुपर्ने व्यवस्थापनका कुरामा गम्भीरतापूर्वक लागेको बताउनु भयो ।

प्रवक्ता शर्माले कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्कको अनिवार्य गरेको बताउनु भयो ।

प्रवक्ता शर्माले महासमितिको बैठकबाट अहिलेसम्म आइपुग्दा केन्द्रिय कार्यसमितिले गरेका कामहरुको विषयहरुलाई अनुमोदनको प्रश्ताव पनि पेश हुने बताउनु भयो ।