राजनीति

काँग्रेस अधिवेशन काठमाडौँमा थप रोचक बन्दै, कस्ले मार्ला बाजी ? (भिडियोसहित)


काठमाडौँ — निर्धारित कार्यतालिका अनुसार नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन अब दुईसाता मात्र बाँकी छ । शुक्रबारबाट दुई वा सो भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्ला अधिवेशन जारी छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएका कारण केन्द्रिय नेतृत्व फेरवदलमा समेत अर्थपूर्ण मानिने काठमाडौँमा पनि जिल्ला अधिवेशन जारी छ ।

पूर्वनिर्धारित कार्यतालिका भन्दा दुई दिनपछि धकेलिएको काठमाडौँको जिल्ला अधिवेशन सुरु भएको छ । १० वटा निर्वाचन क्षेत्र र ३३ सय क्षेत्रिय प्रतिनिधि भएको काठमाडौँको जिल्ला अधिवेशनमा सिंगो कांग्रेसको चासोको छ । गुटगत प्रतिस्पर्धामा उत्रिएको कांग्रेसको केन्द्रिय नेतृत्व फेरबदलमा समेत महत्वपूर्ण भूमिका खेल्ने हुँदा काठमाडौँको नेतृत्व चयन अर्थपूर्ण मानिन्छ ।

यो पटक जिल्ला सभापतिका लागि संस्थापन पक्ष सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलको तर्फबाट सभापति उपेन्द्र कार्की र संस्थापनइतर पक्ष पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको समूहबाट जिल्ला सभापति सवुजकृष्ण बाँनिया प्रतिष्पर्धामा छन् ।

केन्द्रिय नेतृत्व जसरी पनि फेरिनु पर्ने माग सहित केन्द्रिय सभापतिमा दावी गरिरहेका प्रकाशमान सिंह, केन्द्रिय उपसभापतिको दावेदार गगन थापा र देउवा गुटबाट प्रदेशसभापतिका उम्मेदवार भीमसेनदास प्रधान काठमाडौँको नेतृत्व जसरी पनि आफ्नो पक्षमा पार्न सक्रिय रुपमा लागि परेका छन । संस्थापनइतरका नेताहरुले केन्द्रीय नेतृत्व परिवर्तन गरेर काँग्रेसलाई गतिशिल बनाउन तल्लो तहबाटै नेतृत्व छान्न विवेक पुर्याउनुपर्ने दाबी गर्दै आएको छ ।

यता संस्थापन पक्षले भने कांग्रेसलाई हाँक्न पुन देउवा नै नेतृत्वमा आउनु पर्ने दावी गर्दै आएको छ । अपरिपक्व नेतृत्व पार्टीका लागी घातक हुने उनीहरुको विश्लेषण छ । यो पटक केन्द्रिय सभापतिका दावेदार प्रकाशमान सिंह र महामन्त्रीका दाबेदार गगन थापा लगायतका नेताहरु गुटगत प्रतिस्पर्धाबाटै केन्द्रिय नेतृत्व फेर्ने होडमा छन् । उनीहरु संगठीत रुपमा देउवा विरुद्ध उत्रिएका छन् । यता सभापति देउवाको समर्थनमा प्रदेशसभापतिका दावेदार समेत रहेका भीमसेनदास प्रधान उभिदा काठमाडाँैको नेतृत्वमा कुन गुटले बाजी मार्छ भन्नेमा संसय पैदा भएको छ ।