राजनीति

चाक्सीबारीको रस्साकस्सीले प्रकाशमान र शेखरमा कुरा अड्कियो, रामचन्द्र–शशांकको त्याग !(भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४औं महाधिवेशन आउन अब मात्र तीन दिन बाँकी छ । तर नेतृत्वकै विषयमा नेताहरुबीच सहमति जुट्न सकेको छैन । त्यसमध्ये पनि पौडेल पक्षलाई साझा उम्मेद्वार तय गर्नु थप चुनौतीपूर्ण बनेको छ ।

केहीदिन अघि पार्टी सभापतिको दाबी गरिरहेका महामन्त्री शशांक कोइरालाले अर्का दाबेदार प्रकाशमान सिंहलाई भनेका थिए, ‘उहाँलाई काठमाडौं बाहिरका नेता–कार्यकर्ताले चिन्दैनन् ।’ सिंह बेस्सरी रिसाए र कोइरालाले माफी नै माग्नु प¥यो । केहीदिन पछि बागमती प्रदेशको अधिवेशनमा सिंहसहित पौडेल पक्षको शक्ति भत्काएर सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष विजयी भयो । नेता प्रकाशमान सिंहको राजधानी केन्द्रीत पकड र गगनकुमार थापाको कित्ता परिवर्तनले बागमतीलाई पौडेल पक्षको भोट बैंककै रुपमा हेरिएको थियो । तर बागमतीसहित प्रदेश एकको नेतृत्वसमेत पौडेल पक्षले गुमाउनुपरेको छ । प्रदेश एकमा संस्थापन पक्षबाटै अन्तरघात भएपछि सभापतिका प्रत्यासी गुरुराज घिमिरेले मात्र दुईमतले हार ब्यहोरेका छन् ।

प्रदेश २ बाहेक अधिवेशन सम्पन्न भएका ६ प्रदेशको नेतृत्व मध्ये पौडेल पक्ष दुईस्थानमा खुम्चिएको छ । जसको स्पष्ट सन्देश हो आगामी महाधिवेशनमा मिलेर गए सुरक्षित एक्ला–एक्लै गए जोखिम । तर पनि पौडेल पक्षभित्र सहमतिको कुनै लक्षण देखिएको छैन । सहमति खोज्नकै लागि सोमबार साँझ पौडेल निवास बोहराटारमाबसेको बैठकले निकास नदिएपछि मंगलबार सिंह निवास चाक्सीबारीमा पुनः सहमतिको प्रयास गरिएको छ । तर कसलाई सभापति मानेर जाने भन्ने विषयमा दिनभर रस्साकस्सी चलेपनि परिणाम शून्य बन्यो ।

अबको दुईदिनपछि महाधिवेशन सुरु हुँदैछ । आगामी नेतृत्वका लागि सभापति देउवा र उपसभापति बिमलेन्द्र निधि स्पष्ट रुपले तयार भएका छन् । तर पौडेल पक्षभित्रका चार दाबेदारबीच सहमति भएको छैन । अन्य तीन नेताहरुबीच सहमति भए दाबी त्याग्न तयार रहेको, नत्र आफुलाई समर्थन गर्नुपर्ने मत वरिष्ठ नेता पौडेलको छ । महामन्त्री शशांक कोइरालासमेत शेखर र प्रकाशमानबीच सहमती भए आफु पछि हट्न सक्ने संकेत गरिरहेका छन् । तर प्रकाशमान र शेखरले आफुबाहेक अरुलाई स्वीकार्ने पक्षमा छैनन् । नेताहरुबीच सहमति नभए आफु पक्षिय जिल्ला सभापतिलाई गोप्य मतदान गराएर पनि टुङग्याउने नेताहरु बताउँछन् ।

वरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला सभापतिको आकंक्षा त्याग्न तयार भए प्रकाशमान र शेखरबीच सहमती हुनुपर्नेछ । तर यी दुबै जनाले दाबी त्याग्ने हिम्मत देखाएका छैनन् । आफुले दाबी त्याग्दा दुईमध्ये कसलाई समर्थन गर्ने रामचन्द्र पौडेल र शशांक कोइरालामाथि पनि अहम् प्रश्न छ । सभापतिमै सहमति हुन नसके पौडेल पक्ष नै विभाजित हुने र पदाधिकारीदेखि केन्द्रीय समितिसम्मै हार ब्यहोर्नुपर्ने अवस्था आउनेछ । नेता–कार्यकर्ता भने शिर्ष नेता जता जान्छन्, उतै प्लेकार्ड बोकेर सहमतिका लागि दबाब दिइरहेका छन् । मंगलबार चाक्सीबारीमा नेताहरु भित्र छलफलमा रहँदा बाहिर नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।

सभापतिमै सहमति नभएपछि पदाधिकारीमा प्रतिस्पर्धा गर्न खोजिरहेका नेताहरु समेत दोधारमा परेका छन् । एक्काएक्लै गए सबै सखाप हुनेविश्लेषण गरिरहेका उनीहरुलाई तल्लोतहदेखि केन्द्रसम्म भइरहेको देउवा–सिटौला गठजोड झनै पिरोलेको छ ।