कोरोना विशेष

कहिले पाउलान् आमनागरिकले खोप ?


काठमाडौँ – कोरोना भाइरसबाट आक्रन्त कतिपय अमेरिकी र युरोपियन मुलुकहरु खोपको साहरामा महामारीबाट मुक्त हुने क्रममा छन् ।

कोरोनाकोे दोस्रो लहरसँग जुधिरहेको नेपाल भने खोप खरिदमै चुकेको छ । कोरोना नियन्त्रणको एकमात्र उपाय खोप अभियान नै भएको भन्दै विज्ञहरुले पनि सबै नागरिकलाई खोपको प्रवन्ध मिलाउन सरकारलाई दवाव दिंदै आएका छन् ।

विज्ञहरुले अहिले कोरोनाबाट बच्ने मुख्य उपाय खोपलाई नै मान्छन् । तर नेपालमा कमैले मात्र कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् । कोरोनाको पहिलो लहर कम हुँदै जाँदा खोपप्रति जनचाहना निकै कम थियो । फलस्वरुप कोभिडसिल्ड भ्याक्सिनमा जनता त्यति आकर्षित भएका थिएनन । कोरोनाको महामारीको दोस्रो लहरमा धेरैले अकालमा ज्यान गुमाएसँग अहिले खोपका लागि नागरिकहरु तँछाडमछाड गरिरहेका छन् । तर, कारोनाविरुद्धको खोप अभियानमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले आमनागरिक मारमा पर्ने देखिन्छ ।

पर्याप्त खोप आयात गर्न नसक्दा कहिले सम्म आम नागरिकले खोप पाउने हुन् भन्ने निश्चित छैन । साथै दोस्रो लहरको कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआइ नै तेस्रो लहर प्रवेश गर्ने होकि भन्ने डर पैदा भएको छ । कोरोना संक्रमण विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यूदर कम गराउन प्रभावकारी हुने भएकाले खोपमा नै सरकारको अधिक ध्यान जानु पर्ने विज्ञहरु बताउँछन् ।

कोरोनाबाट छुट्टकरा पाउन भ्याक्सिन नै अहिले प्रभावकारी रहेको विज्ञहरुले बताइरेहका छन् । ८० प्रतिशत जति जनसंख्याले खोप लगायो भने सजिलै कोरोना संक्रमणबाट छुट्टकरा पाउन सकिने विज्ञहरु बताउँछन् ।

खोप लगाएका मानिसहरुमा कोरोना संक्रमण भए पनि ती मानिसहरु गम्भीर अवस्थामा नपुगेका आधारमा नयाँ भेरियन्टलाई पनि खोप प्रभावकारी रहेको विश्वास गरिएको छ । खोप आयातको सुनिश्चितता गरेर जनतालाई महामारीबाट बचाउनतर्फ सरकार गम्भीर बन्न जरुरी छ ।