Breaking

कहाँ छन् सन्दीप लामिछाने ?

आधा दर्जन मुलुकको भिसा


काठमाडौँ – नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दीप लामिछाने अझै सम्पर्कविहीन बनेका छन् । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू मानसिक रूपमा विक्षिप्त बनेको विवरण समाजिक सञ्जालमा ‘पोस्ट’ गरे । त्यसपछि उनी कहाँ छन् भन्ने विषय फेरि एकपटक चर्चाको विषय बन्यो, सामाजिक सञ्जालमा ।

एक नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछाने कहाँ छन् भन्ने खुलेको छैन् । तर, उनी दुबई वा सिंगापुरमा रहेको अनुमान गरिँदै आएको छ । सरकारी स्रोतका अनुसार लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलियालगायत आधा दर्जन बढी मुलुकको भिसा छ ।

सन्दीपले आफूविरुद्ध झुटा गतिविधि भइरहेको दाबी गर्दै नेपाल आएर कानुनी लडाइँ लड्ने उक्त पोस्टमार्फत जनाएका छन् । तर, उनी नेपाल कहिले आउँछन् खुलाएका छैनन् । बरु बिरामी भएको र आफू ‘आइसोलेसन’मा रहेको उनले दाबी गरेका छन् ।

लामिछानेले पोष्ट गरेको भावनात्मक पोस्टले प्रहरी अनुसन्धानलाई कुनै प्रभाव नपार्ने प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीले सन्दीपको खोजी कार्य जारी रहेको बताए । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिगमाथि जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दर्ता भएको थियो । नाबालिगका आफन्तले दर्ता गराएको जाहेरीमा भदौ ५ गते राति सन्दीपले दुईपटक बलात्कार गरेको उल्लेख छ ।

साँझ नगरकोट घुमाउन लगेर मध्यराति काठमाडौंस्थित ‘होटल काठमाडौँ इन’मा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । उक्त घटना भएको भनिएको भोलिपल्ट ६ भदौमा लामिछाने ट्वान्टी–२० सिरिज खेल्न केन्या प्रस्थान गरेका थिए ।

उक्त सिरिज नेपालले जितेको थियो । सोही सिरिजपछि लामिछाने क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न जमैका प्रस्थान गरेका थिए । जमैकामै रहेका बेला सन्दीपविरुद्ध बलात्कारको उजुरी परेपछि उनी त्यहाँबाट निस्किएका थिए । तर, उनी अझै नेपाल आइपुगेका छैनन् ।

हालसम्म उनी सम्पर्कविहीन छन् । प्रहरी अधिकारीहरुका अनुसार सन्दीपका परिवारका सदस्यले समेत प्रहरीमा सम्पर्क गरेका छैनन् । सन्दीप दुबई वा सिंगापुरमा रहेको र त्यहाँ नेपालबाट केही कानुन व्यवसायी पुगेको हुनसक्ने प्रहरी अधिकारीहरुको अनुमान छ । नेपाल पुग्नेबित्तिकै पक्राउ पर्ने भएकाले उनले विदेशबाटै आफ्नो सबै कानुनी व्यवस्थापन गरेर आउने तयारीमा लागेको प्रहरीको बुझाइ छ ।

सन्दीपले आफूलाई कानुनी सहयोग गर्न नेपाल क्रिकेट संघ ९क्यान०का अधिकारीहरुलाई समेत आग्रह गरेका थिए । नेपाल आएर कानुनीरुपमा अगाडि बढ्ने बताइरहे पनि सम्पर्कविहीन भएपछि प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल०सँग समन्वय गरेर नेपाल ल्याउने प्रक्रिया अघि बढाउने तयारी थालेको छ ।

त्यसका लागि आवश्यक कागजी प्रक्रिया अगाडि बढाइएको प्रहरीका एक उच्च अधिकारीले बताए । सन्दीप पक्राउ नपरेसम्म अहिले नै कानुनी प्रक्रिया अगाडि बढाउन केही जटिलताहरु रहेका ती अधिकारीले बताए ।

सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले २३ भदौमा अनुमति दिइसकेको छ । काठमाडौँ प्रहरी परिसरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सबै नाका र जिल्ला प्रहरी कार्यालयहरुलाई यसबारे पत्राचारसमेत गरिसकेको छ ।