Breaking

ओली–देउवा वडामै पराजित, भरतपुरमा प्रचण्ड संकटमा, वडामै हार्ने नेता किन गर्छन राजनीति ?


काठमाडौँ —निर्वाचन आयोगका अनुसार, सोमबारसम्म ७५३ मध्ये १३० स्थानीय तहको मतगणना सकिएको छ । अहिलेसम्म घोषणा भएका नतिजामा केही शीर्ष नेताले आफ्नै पालिका पनि जोगाउन सकेका छैनन । केही शीर्ष नेताका पालिकामा विपक्षी दलका उम्मेदवारले अग्रता लिइरहेका छन् । दशकौं पुराना राजनीतिक दलको विरासतलाई ६ महिनाकै खटनपटनमा भत्काएरकाठमाडौं महानगरमा स्वतन्त्र बालेन्द्र साहले विजयीको झण्डा गाड्न खोजिरहेका बेला ठूला दलका ठूला नेता आफ्नै वडामा हारेकोविषय झनै रोचक छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वडा हो सूर्यविनायक नगरपालिका–२ बालकोट । बैशाख ३० को मतदानमा ओलीले भोट हालेको यस वडामा नेपाली काँग्रेसले वडाध्यक्षसहित क्लिनस्विप नै गरेको छ । ओलीको जन्मस्थलसमेत रहेको तेह्रथुमको आठराई–४ इवाको जितलाई त गठबन्धनले उत्सवकै रुपमा लिएको छ । ओलीको आफ्नै जन्म गाउँ भएकाले विगतदेखि इवा एमालेको लालकिल्ला थियो । तर जन्म गाउँ र कर्म गाउँमा मात्रै ओली धुलिसाप भएका छैनन्, गृहजिल्ला झापामा समेत आशातित मत आएको छैन । दमकमा राप्रपासँग ओली पछि परेका छन् । एमाले अन्य ठूला नेताका आफ्नै वडा र पालिकामा समेत एमाले पार्टी पराजित भएको छ ।

एमाले उपमहासचिवप्रदीप ज्ञवालीकै गाउँपालिकामा पार्टी पराजित भएको छ ।एमालेका अर्का नेता गोकर्ण विष्ट र काँग्रेस नेता चन्द्र भण्डारीले समेत आफ्नै पालिकालाई जिताउन सकेनन् । सूर्याेदयसँगै पहिलो मतदान गरेका नेता योगेश भट्टराईको गृह पालिकामासमेत एमाले हारेको छ । उनकै वडामा एमाले हारेपछि एक वडा सदस्य जितेर भट्टराईले चित्त बुझाइरहेका छन् । उपाध्यक्ष सुवास नेम्वाङको पालिकामा एमाले पराजित नजिक छ ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको वडामा समेत पार्टी पराजित भएको छ । गोकुल बास्कोटाको गृहनगरमा मण्डन देउपुरमा समेत एकीकृत समाजवादीले अग्रता लिइरहेको छ । आपूर्तिमन्त्री तथा काँग्रेस नेता दिलेन्द्र प्रसाद बडूको गृहनगरमा एमाले भारी मतले विजयी भएको छ ।एकीकृत समाजवादीका नेतासमेत रहेका पर्यटनमन्त्री प्रेम आलेले आफ्नौ पालिका जोगाउन सक्दा एमाले विजयी भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको गृहपालिकामाएकीकृत समाजवादीले वडामै चुनाव हारेको छ ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाआफ्नै वडामा जित सुनिश्चित गर्न असफल भए । गठबन्धनको साहरा लिएर आफ्नै पार्टीको असन्तुष्टलाई वेवास्ता गरेपछि ‘भुइँको टिप्न खोज्दा पोल्टा खस्यो ।’ डडेल्धुराको गन्यापधुरा–१ असिग्राममा काँग्रेस बीपी विजयी भएको छ ।देउवा बस्दै आएको काठमाडौंस्थित बूढानीलकण्ठ–३ मा पनि कांग्रेसले वडाको चुनाव हारेको छ।स्वतन्त्र उम्मेदवार आकाश धितालले जित हासिल गर्दा कांग्रेसतेस्रो स्थानमा खुम्चिएको छ । वडाकै हरुवाले कुन नैतिकतामा राजनीति गर्छन् प्रश्न गम्भीर छ ।

काठमाडौं महानगरको ३२ नम्बर वडामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घर छ । यो क्षेत्रलाई माधव नेपालको पकडका रुपमा हेरिँदै आइएको छ । तर चुनावमा उनको कुनै प्रभाव देखिएन ।तथापी नेपालको गृहजिल्ला रौतहटको गौरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले नाक जोगाउने कोशिस गरिरहेका छन् ।छोरी रेनु दाहालभन्दा अरु नसोचेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को वडाको मत गणना नभएपनि भरतपुरको समग्र मतपरिणाम हालसम्म रक्षात्मक देखिएको छ ।राष्ट्रिय राजनीतिकै पेरिफेरीमा घुमेका तर आफ्नै गाउँ ठाउँमा सर्मनाक हार ब्यहोरेका नेताहरुलाई हेर्दा जनताले शासकबाट उन्मुक्ति खोजिरहेको पुष्टि स्वतन्त्र उम्मेदवारमाथि बढ्दै गएको विश्वासले समेत देखाइरहेको छ ।