कोरोना विशेष

‘ओमिक्रोन’ के हो ? यसबाट मृत्यु हुने सम्भावना कति छ ? कसरी सुरक्षित हुने ?


काठमाडौँ — कोरोनको पहिलो लहर सुरु हुँदा जसरी एकपछि अर्को मुलुकमा फैलिरहेको थियो नयाँ भेरियन्ट ओमिक्रोन अझ बढी आक्रमक रुपमा फैलिरहेको छ । पुष्टि भएको १३ दिनभित्र ४७ भन्दा बढी मुलुकमा फैलिएको ओमिक्रोनले नेपालमा पनि त्रास पैदा गरेको छ । के हो त ओमिक्रोन भेरियन्ट ? कसरी बच्न सकिन्छ ?

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन सोमबार नेपालमा पनि पुष्टि भएपछि आम सर्वसाधरण त्रसित बनेका छन् । कोरोना भाइरसको संक्रमण र मृत्युदर पनि तुलनात्मक रुपमा कम हुँदै गएपछि धेरैले स्वास्थ्य सावधानी अपनाउन छोडेका थिए । यद्यपि सोमबार नयाँ ओमिक्रोन भेरियन्ट देखा परेसँगै नागरिक शंसंकित बनेका छन । सरकारले विभिन्न नाकाहरुमा तीव्रताका साथ निगरानी बढाएको जनाएको छ । नयाँ भेरियन्ट ओमिक्रोनको लक्षण र असर पहिलेको भाइरसरह नै भएको स्वास्थ्यविद्ले प्रष्ट्याएका छन् ।

कोभिड १९ को सबैभन्दा पछिल्लो भेरियन्ट ओमिक्रोन २४ नोभेम्बर २०२१ मा पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । १३ दिनको अवधिमा विश्वका ४७बढी मुलुकमा फैलिसकेको छ । भेरियन्ट पुष्टि भएको दक्षिण अफ्रिका तथा अन्य मुलुकहरुमा संक्रमण दर ह्वातै बढे पनि यो भेरियन्ट कत्तिको संक्रामक छ भन्ने स्पष्ट भने भइसकेको छैन । यसबारे अनुसन्धान जारी छ । विश्वस्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट अहिलेसम्मकै बढी संक्रामक भएको उल्लेख छ ।

पहिले कोभिड -१९ संक्रमण भइसकेकोलाई समेत पुन ओमिक्रोन भेरियन्टको संक्रमण हुने पछिल्लो अध्ययनहरुले देखाएको छ । कोभिड–१९ विरुद्धका खोपहरु ओमिक्रोन भेरियन्ट प्रतिरोध गर्न सक्छ वा सक्दैन भन्ने यकिन छैन । अध्ययनहरु जारी रहे पनि ठोस तथ्य अझै बाहिर आएको छैन । तत्कालका लागि स्वाथ्य मापदण्डको पूर्ण पालनामा कडिकडाउ गर्दै सबैले कोरोना विरुद्धको खोपमा जोड दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

कोरोनाका अन्य भरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि मास्कको सही प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजन प्रयोग गर्ने,भीडभाड नगर्ने,हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका स्वास्थ्य सावधानी अपनाउनु पर्छ । आक्रमक रुपमा फैलिरहेको ओमिक्रोन भेरियन्टबाट सुरक्षित रहन स्वास्थ सर्तकता नै अन्तिम विकल्प भएकाले यसतर्फ सबैको विशेष ध्यान जान जरुरी छ ।