राजनीति

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दैछ । बैठक अपराह्न तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।


आजको बैठकमा पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव बमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुने तामाङले बताएका छन् ।

यसअघि आइतबारको बैठकले माधव नेपाल पक्षको बहिष्कारकाबीच महाधिवेशन केन्द्रित निर्णयहरु गरेको छ । आइतबारको बैठकले भदौ २७ र २८ गते गर्न लागेको विधान महाधिवशेनका लागि चार कार्यदल गठन गरेको थियो । चार कार्यदलमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओली, सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेल, विधान संशोधन मस्यौदा तयार पार्न विष्णुप्रसाद पौडेल र विधान महाधिवेशन व्यवस्थापनमा रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

प्रस्तावहरूलाई अन्तिम रूप दिन साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय आइतबारको बैठकले गरेको छ । यस्तै सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय पनि बैठकले गरेको थियो ।