राजनीति

एमाले महाधिवेशन : ५० लाखको दुई तले मञ्च, १५ लाखको सेल्फी प्वाइन्ट,कहाँबाट आयो करोडौं पैसा ? (भिडियोसहित)


काठमाडौँ — चुनावमा हुने अधिकांश खर्च अपारदर्शी र प्रश्नचिन्ह लाग्ने किसिमका भएको भन्दै निर्वाचन प्रणालीमाथि नै प्रश्न उठिरहेका बेला राजनीतिक दलहरु भने झनै भड्किलो बन्दै गएका छन् । पार्टीका महाधिवेशनदेखि दलहरुबीचको चुनावी दौडमा खर्चको प्रतिस्पर्धा नै चलेको छ ।

पाँच लाख नेता कार्यकर्ता चितवन उतार्ने पूर्व उद्घोषसहित नेकपा एमालेले मंसिर १० मा १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दैछ ।नेपालभर भएका सवारी साधनले बोक्न सक्ने जति मानिस चितवन आउने उद्घोष अध्यक्ष ओलीले मंगलबार नै गरेका छन् ।जसका लागि कति खर्च लाग्ला ?सोच्न सकिन्छ तर गन्न सकिने अवस्था छैन । ५० लाखभन्दा धेरै खर्चिएर त एकदिनका लागि एमालेले दुई तले मञ्च निर्माण गरेको छ ।

एकदिनको यो खर्चले एउटा गाउँमा विद्यालय निर्माण हुनसक्छ, विकटमा अस्पताल बन्न सक्छ । साजसजावटमा करोड बढीको खर्चछ । सेल्फी खिच्नकै लागि २५ स्थानमा करिब १५ लाख बराबरको सेल्फी पोइन्ट निर्माण गरिएको छ ।सौराह जस्तो सुविधासम्पन्न र महंगो स्थानका तीन हजार पाँच सय होटलका कोठाहरु बुक भएका छन् ।जसको स्रोत के हो र कम्युनिष्ट पार्टीबाटै अनुत्पादक हुने गरि किन अपारदर्शी खर्च गरिएको छ प्रश्न गम्भीर छ ।

एमालेले महाधिवेशनमा हुने खर्चको स्रोतकार्यकर्ताबाट उठेको एक सय रुपैयाँलाई भनेको छ । हाल एमालेमा आठ लाख ५५ हजार संगठित सदस्य छन् ।हरेकबाट एकसय चन्दा संकलन गर्दा साढे आठ करोडको हाराहारीमा संकलन हुन्छ । तरमहाधिवेशनमा गरिरहेको तामझाम हेर्दा अर्बाैले नभ्याउने खालको छ । खर्चका मामिलामा एमालेबाहेकका दलहरुसमेत कम छैनन् । एमालेको जस्तै महाधिवेशनको चटारोमा नेपाली काँग्रेस समेत छ ।नेपाली काँग्रेसमा त झन, वडा अधिवेशनबाटै उम्मेद्वारले लाखौं बगाएका छन् ।

यसरी पैसाको खोलो बगाएकाहरु नै चुनिएर माथिल्लो तहमा आएका छन् । महाधिवेशन प्रतिनिधि चयन भएकै एक व्यक्तिले पचास लाखसम्म खर्चिएकोसार्वजनिक भएका छन् ।तर चुनाव जित्न पैसाको पनि हात हुन्छ ? भन्ने प्रश्नमा नेताहरु खुलेर बोल्न सकिरहेका छन् । यसले चुनावी खर्चलाई झन अपरदर्शी बनाइरहेको छ ।

राजनीतिक रुपमा कमजोर हुँदै गएको नेकपा माओवादी केन्द्रसमेत अपारदर्शी खर्चकै भरमा चुनाव जितिने विश्वास गर्दै आएको छ ।हाल हरेक निर्वाचनमा उद्योगतिमा लम्कीएको उसलाई चन्दादाताले समेत पत्याउन छोडेपछि निराशाकेन्द्रीत छ । यसैकारण पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा माओवादीका लागि प्रिय बनिरहेको छ ।व्यापारीले दिने चन्दाको स्रोत खुलाउँदा करको भार व्यहोर्नुपर्ने र पार्टी दिइने रकमले विवाद जन्माउने हुँदा अपारदर्शी बन्दै गएका छन् । दलहरू आर्थिक रूपमा अपारदर्शी बन्दै जानुको अर्काे कारण निर्वाचन प्रणाली पनि हो । सीमाविहीन तरिकाले खर्च गर्न पाउने र आर्थिक पारदर्शिताप्रति पनि नेताहरूले बेवास्ता गर्ने भएका कारण त्यसले दलहरुलाई अपारदर्शी मात्रै बनाइरहेको छैन, भ्रष्टाचारसमेत मौलाएको छ ।