राजनीति

एमाले फुटाउन मधवलाई आकर्षक अफर (भिडियोसहित)

ओली समाउने कि प्रचण्डतिर रमाउने ?


काठमाडौँ – पार्टी एकताको दबाब र सत्ता गठबन्धनसंगको सहकार्यलाई लिएर वारपारको अवस्थामा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल थप अन्योलमा परेका छन् । एमाले एकता गरेर जाने कि गठबन्धनसंग मिलेर सरकारमा सामेल हुने भन्ने बारे निर्णय गर्न नसकेका नेपालले आफु पक्षिय नेतासंग घनिभूत छलफल चलाइरहेका छन् ।

नेकपा एमालेमा कि वार कि पारको छिनोफानो लगाउनुपर्ने अवस्थामा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाईचुनावपछिको प्रधानमन्त्रीदेखि उच्चस्तरिय राजनीतिक संयन्त्रको नेतृत्व गर्न दिने लगायतका १२ दर्जन बढी अफर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् ।

आफ्नै पार्टीमा विद्रोह गरेर प्रमुख प्रतिपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउन अहम् भूमिका खेलेका नेपाललाई त्यसकै प्रतिफल स्वरुप गठनबन्धनले अफर गरेको हो । अफर पछि नेता नेपालले अब ओलीसंग सहकार्य गर्ने कि अवसरलाई ग्रहण गर्दै गठबन्धनमा सामेल हुने सिघ्र छिनोफानो गर्नुपर्ने भएको छ । तर सत्ताधारी गठबन्धनको अफर र पार्टी एकता नै गर्नुपर्ने आफ्नै पक्षका नेताहरुको दबाबकाबीच नेता नेपाल चेपुवामा परेका छन् ।

यसकै छिनोफानो लगाउन नेपालले विहिबार देशभरबाट केन्द्रीय कमिटी सदस्यहरुलाई बोलाएर काठमाडौंको एक होटल घनिभूत छलफल गरे । तर निष्कर्ष निस्कीएन । किनकि स्थायी कमिटीदेखि केन्द्रीय कमिटी सदस्यहरुले सरकारमा सामेल हुने भन्दा पार्टी एकतामै लाग्नुपर्ने दबाब दिइरहेका छन् ।

नेता नेपाललाई चुनावपछिको प्रधानमन्त्री र सरकारलाई सहज पार्न तथा विवाद समाधानका लागि बनाइने उच्चस्तरिय संयन्त्रको संयोजकसहित सरकारमा रोजेकै ६ मन्त्रालय, ६० प्रतिशत राजनीतिक नियुक्ति र एमाले फुटाएर बनाउने समाजवादी केन्द्र नामको पार्टी अध्यक्ष बनाउने प्रस्ताव प्रचण्डसहितका नेताहरुको छ ।

नेपाल पनि देउवा र प्रचण्डसहितको गठबन्धनमा लामबद्ध भएर सरकारमा जाने तयारीमारहेको र यसकै लागि मन्त्रिमण्डल विस्तारलाई केहीदिन रोक्न आग्रह गरेको गठबन्धनका नेताहरुले बताउँछन् । तर उनका लागि आफ्नै पक्षका नेताहरु बाधक बन्ने देखिएको छ ।

विहिबारको छलफलमा समेत माधव पक्षको तर्फबाट विघटित कार्यदलको सदस्यसमेत रहेको नेता सुरेन्द्र पाण्डे र अर्का नेता योगेश भट्टराई सहभागी भएनन् । उनीहरु गठबन्धनसंगको सहकार्य तोडेर पार्टी एकतामा लाग्नु पर्ने मत राखिरहेका छन् । उता माधव नेपाल पक्ष सरकारमा जाने चर्चा चलिरहेका बेला ओली पक्ष भने पख्लास् भन्ने अवस्थामा छ ।

सत्ताधारी गठबन्धनले आगामी चुनावसम्मै मिलेर जाने सहमति गरेको छ । जुन लिखित रुपमा बाहिरीन मात्रै बाँकी छ । एमाले फुटाएरै माधव पक्षलाई स्वागत गर्ने गरि प्रचण्डले साउन यतामात्रै नेपाललाई १० पटक भेटवार्ता गरेका छन् । तर आफ्नै पक्षको चर्काे दबाब र दोस्रो अध्यक्ष बनाएर जाने ओलीको प्रस्तावमा समेत लोभिएका नेता नेपाल अन्योलमा परेका छन् । यद्यपी जता ढल्कीएपनि वारपार नै गर्नुपर्ने अवस्थाका बीच चाँडै निर्णय लिनुपर्ने बाध्यता नेपाललाई आइपरेको छ ।