Breaking

एक महिनापछि दुवै चिनियाँ नाका सुचारु


काठमाडौँ — एक महिनापछि चिनियाँ दुवै नाका सुचारु भएका छन् । मुख्य वस्तु आयात हुने रसुवा र तातोपानी दुवै नाका खुलेका हुन् ।

उत्तरी नाकामा रोकिएका वस्तु भित्रन थालेका छन् । तिब्बतमा कोभिड बढेको भन्दै एकतर्फी रुपमा नाका बन्द भएको बीच बाटोमा रोकिएका वस्तु भित्रन थालेका हुन् । तातोपानी नाकाबाट भदौ २५ गते नै वस्तु आयात हुन थालेकोमा बिहीबारबाट रसुवा नाकाबाट समेत वस्तु आयात शुरु भएको छ ।

चीनले साउन अन्तिम हप्ताबाटै विना सुचना नाका बन्द गरेको थियो । तीजका लागि लक्षित सामाग्री आउन पाएका थिएनन्। व्यवसायीले दशैं लक्षित सामाग्री पनि आउन नसकेको भन्दै गुनासो गर्दै आएका थिए ।

चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सु काठमाडौँ आएसँगै राष्ट्रपतिदेखि सभामुखसम्मले नाका खोल्न आग्रह गरेका थिए । चान्सुले उत्तरी नाका नियमित खुल्ने विश्वास दिलाएका थिए । चिनले उत्तरी नाका खोल्ने बताए पनि निर्बाधरुपमा खुलेको छैन । उत्तरी नाका हुँदै निर्यात गर्न सकिने अवस्था छैन । तातोपानी नाकाबाट भदौ २५ गतेबाट वस्तु आयात हुन थालेको थियो । रसुवा नाकाबाट भदौ ३० गतेबाट आयात हुन शुरु भएको छ।

व्यवसायीहरुले दशैं लक्षित लत्ता, कपडा, जुत्ता पनि उत्तरी नाका हुँदै ल्याउने गरेका छन् । हाल उत्तरी नाकामा रहेको अधिकांश टेलरमा लत्ता कपडा रहेका छन् । अबको एक हप्तामा ती ट्रक आउन सके व्यवसायीलाई ठुलो राहात हुने छ ।