वागमती

उपत्यकामा निषेधाज्ञा जारी नै रहने, यस्तो छ थपिएका नियम


काठमाडौँ – काठमाडौँ उपत्यकामा लगाईएको निषेधाज्ञा जारी नै रहने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको हिजो बसेको बैठकले निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो । निषेधाज्ञा थप गरिएसँगै आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि लम्बिएको छ ।

उपत्यकाका तीनै जिल्लामा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थपिएसँगै थप नियम पनि लागु गरका छन् । निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स खाद्य सामग्री मात्र बिक्री गर्न खुला हुने छ । मानिसको भीडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन ।
सार्वजनिक एवं निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बढीमा दुई जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । होटल तथा पार्टी प्यालेसमा विवाह, व्रतबन्ध गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।
यस्तै आजैदेखि लागू हुनेगरी अत्यावश्यक सेवा दिने कार्यालयबाहेक सबै कार्यालय बन्द गरिएको छ । अत्यावश्यक सेवा दिने कार्यालयले पनि न्यून कर्मचारी राख्नुपर्ने आदेशमा उल्लेख छ । अहिलेसम्म यसैगरी मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
काठमाडौँ उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागू गरिएको थियो । शुरूआतमा एक साता लगाइएको निषेधाज्ञा २२ वैशाखमा एक साता थपिएको थियो। त्यो लम्बिदैँ जेठ १३ सम्म पुगेको हो ।