समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी, निर्णय गर्न सीडीओको बैठक बस्दै


काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा अझै एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । यसका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज अपराह्न ४ बजे बस्ने तय भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थप खुकुलो बनाइने जानकारी दिनुभयो । ‘‘व्यापार–व्यवसायलगायत केही क्षेत्र खुकुलो बनाउनेबारे छलफल भइसकेको छ । सार्वजनिक सवारी–साधनलाई पहिलाकै नियम कायम गर्ने भन्ने कुरा छ भने निजी सवारी–साधनको हकमा जोर–बिजोर लागु गरिनेछ । गएको बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो ।

अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई बिहान ११ बजेसम्म खोल्न दिइएको छ । पछिल्लोपटक उपत्यकामा जारी निषेधाज्ञा भोलि (सोमबार) राति सकिँदै छ ।