खेलकुद

ईपीएलको आगामी संस्करणमा क्यानले दिएन स्वीकृति : सर्वोच्च अदालतमा रिट दायर


काठमाडौँ — नेपाल क्रिकेट संघ क्यानले एभरेष्ट प्रिमियर लिग ईपीएलको आगामी संस्करणका लागि स्वीकृति नदिएपछि आयोजक संस्था ईपीएल प्रालिले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । ईपीएलले विहीबार वक्तव्य जारी गरी क्यानलाई विपक्षी बनाएर अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको जनाएको छ । सर्वोच्चमा बुधबार रिट दायर भएको हो ।

क्यान आफैंले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग आयोजना गर्ने निर्णय गरेका कारण नेपालमा भइरहेका अन्य फ्रेन्चाइज क्रिकेटलाई राष्ट्रिय प्रतियोगिताका रुपमा स्वीकृति नदिने निर्णय गरेको थियो । ईपीएलले आफ्ना टिममालिक समेत जम्मा गरी सोमबार आफूहरुले स्वीकृति नपाए क्यानको सबै कार्यक्रम वहिस्कार गर्ने चेतावनी दिएको थियो । त्यसपछि क्यानले ईपीएलको धम्कीपूर्ण चेतावनीप्रति खेद प्रकट गरेको थियो ।

साथै क्यानले बुधबार बोर्ड बैडकको निर्णय सार्वजनिक गर्दै अब नेपालमा एक मात्र आधिकारिक लिग हुने र अन्य लिगलाई राष्ट्रिय लिगको मान्यता नदिने र क्षेत्रिय लिग गर्ने व्यवस्था गराउने जनाएको थियो । ईपीएलले आज बिहीबार विज्ञप्ती जारी गर्दै क्यानका बारेमा ‘धम्कीपूर्ण ढंगले सार्वजनिक टिप्पणी गरेको’ आरोपलाई अस्वीकार गर्दै क्यानलाई कुनै पनि तरिकाले धम्की नदिएको दावीसमेत गरेको छ ।

साथै इपीएलले नेपाल टी २० लिग सञ्चालन गर्दा क्यानले भारतको निजी कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई समावेश गरेको र नेपालका प्रचलित कानूनलाई बेवास्ता गरी निजी सम्झौता गरी विदेशी कम्पनीको सेवा लिनुले समग्र निर्णय प्रक्रिया र क्यानको नियतमाथि नै धेरै प्रश्न खडा गर्ने तथा यो अपारदर्शी, स्वेच्छाचारी काम भएको दावी गरेको छ ।