फोटो फिचर

आमाको सम्झनामा लेखेको पत्र


काठमाडौँ – आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइएको छ ।
हिन्दु परम्पराअनुसार मातातीर्थ औँसीका दिन जीवित आमालाई खानेकुरा र लुगाफाटो दिएर सम्मान गरिन्छ । दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरिन्छ । यो पर्व बौद्ध धर्म मान्नेहरूले खासै मनाउँदैनन् । तर जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्नु कुनै व्यक्ति, समाज र धर्मले कसैलाई रोक्दैन ।
आजभोलि व्यवहारमा जस्तो गरे पनि सामाजिक सञ्जाल एक दिन आमालाई शुभकामना दिनेको लर्को लाग्छ । आमालाई एक दिन मात्रै होइन सधैँभरिसम्झिन जरुरी छ । सधैँ सम्मान गर्न जरुरी छ ।
आमाको सम्झनामा लेखेको पत्र
आमा !
मेरो हातमा घडी छैन तर हरेक पल तपाईँले मेरो समय भनिदिनु भएको छ । बिहानीको किरणदेखि मध्यरातको निद्रामा पनि सपनी सजाउन आउनु हुन्छ ।
तपाईँलाई सपनीमा पाएर म कुर्सीमा विराजमान नेताभन्दा बढी खुशी हुने गर्छु, आमा !
आजभोलि एउटा प्रश्न चर्चाको शिखरमा छ । त्यो थाहै होला तपाईँलाई पनि आमा । आखिर धनविनाको मन र मनविनाको धन कुन ठूलो हो भनेर छुट्याउने कुनै वस्तु बनेकै छैन, मेरो आमा ।
जुन आँखाले हामी हेर्छौँ, त्यहाँ त्यही ठूलो हुँदोरहेछ आमा, चाहे मन होस् या धन । हामीले इष्र्याको चश्मा लगाएर हेर्ने गरेकाले मात्र छुट्याउन नसकेको रहेछ आमा । हामी जाडो भए त्यही घाम प्यारो सोच्छौँ र गर्मीमा त्यसलाई दोष दिन कुनै कसर बाँकी छाड्दैनौँ । अब भनौँ त ठूलो के आमा ? एउटै कुरा समय र परिवेशले हामी फरक तरिकाले हेर्छौँ भने ठूलो र सानो किन भन्ने है आमा !
शत्रु कमाउने धन कहिल्यै ठूलो हुँदैन तर मित्र कमाउने मनलाई यसले कहिल्यै ठूलो हुन पनि दिएन आमा । त्यसैले म द्विविधामा छु मेरो आमा । अन्तर्मनको यात्रामा निस्किएको तपाईँंको छोरामा भ्रमको बादल फुट्नेछ अनि मात्र सत्यको झरी दर्किन्छ र सबैले प्रेमको सही शीतलता महसुस गर्नेछन् आमा । म त्यही क्षणको प्रतीक्षामा छु । धैर्य गर्न सक्यौँ भने बचेको जिन्दगी रमाउन सकिन्छ आमा । होइन भने त न आज सहज हुन्छ न भोलिको समय उज्यालो।
आमा तपाईँको माया त मैले बुझेकै हुँ तर आफूले जति गर्नुपर्ने थियो त्यति गर्न सकेको थिइनँ ।
तर आज मायाको भण्डारमा लाएको साँचो फुटाएर पस्किँदैछु मेरी आमा । यो हावामा मैले आफ्नो आभास मिसाएर पठाएको छु । तपाईँले गन्ध महशुस गर्नु हुनेछ । प्रेम गन्ध जुन श्वास भएर तपाईँको नसामा रगतका कण हुँदै हृदयमा पुग्नेछ । मलाई विश्वास छ आमा, मेरो प्रेमलाई तपाईँले झुठो महसुस गर्नु हुनेछैन ।

जब वर्षात् सुरु हुन्छ मलाई तपाईँको धेरै याद आउँछ अनि आँखाबाट आँसु झरेको थाहा हुन्न आमा ।

आज घुम्दै थिएँ, कामको खोजीमा । तर जताजता पुग्थेँ, तपाईँलाई नै भेट्टाउँथे आमा । टाढा हुन त किन दिनुहुन्थ्यो र मलाई ! तपाईँले सपनीमा ‘बिरामी छस् हो छोरा?’ भन्दा आमा म खुब रोएँ । हो, आमा चार दिन भइसकेछ आज शरीरले अस्वस्थ महशुस गरेको तपाईँको यादमा । यो कुरा सुनाएर तपाईँको पिर चिन्ता बढाउन नसेकेरै भन्ने आँट गरिनँ आमा ।

तपाईँ मलाई यति धेरै माया गर्नुहुन्छ, आशीर्वाद दिनुहुन्छ, त्यही भएर आजसम्म हार्न सकेको छैन आमा मैले । तपाईँलाई कहिल्यै मैले ‘आई लभ यू’ आमा भन्न पाइनँ र भनिनँ । तर मेरो मायाको सागर कहिल्यै कम भएको छैनआमा ।
आमा तपाईँलाई यो पत्र लेखिरहँदा मैले प्रेमका अनेकन् चित्र कोरेँ थाहा छैन तिम्रा बूढा आँखाले देख्छन्दे/ख्दैनन् ? तर यो पत्र तिम्रो छातीमा राख मेरो मायाको छिटा तपाईँको आँखाबाट पनि बहनेछन् । तर तपाईँ नरुनु है आमा ।
आमा मलाई आशीर्वादको फोहोरा सँधै बर्साइरहनु ता कि म आफ्नो पथबाट विचलित नहूँ । तपाईँले मलाई गाली नगरेको पनि युग बितिसकेछ आमा ।
मलाई दुईचार शब्दले हिर्काइदिनुहोस् ताकि म अझ अघि बढूँ । आमा तपाईँले मलाई सपनीमा भए नि माया अनि केही शब्द भनिदिनुहोस् ताकि भोलिको उज्यालो म तपाईँको काखमा भएको महशुस गर्न पाऊँ । तपाईँको चरणस्पर्श गरेर बिहानीको झिसमिसे उज्यालोलाई पनि इन्द्रेणीको रंगजस्तै सुन्दर बनाउन सकूँ आमा । अनि तपाईँको काखमा मैले भोगेका दुःखलाई छोप्न सकूँ आमा ।
अन्त्यमा, तपाईँमेरो साथमा नभए पनि सत्कर्म गरी तपाईँजस्ता हजारौँ आमाको सदैव आशीर्वाद पाउन सकूँ । आशीर्वाद दिनुहोस् आमा, अर्को जन्ममा पनिम तपाईँको छोरा भएर जन्मिन सकूँ, अनि अनेकौँ मातातीर्थ औँसी तपाईँकै साथमा मनाउन सकूँ ।
जय माता जय मातृभूमि

उही तपाईँको प्यारो,
तपाईँलाई सधैँ आफूभन्दा बढी माया गर्ने
तपाईँको छोरा पासाङ
मिस यू आमा !