Breaking

आन्दोलनरत निहारिका राजपुतले राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोजे


काठमाडौँ — आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।