Breaking

आदिवासी जनजातिको भाषा संस्कृति संरक्षणको लागि सरकार गम्भीर छ: देउवा


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् । २८औँ विश्व आदिवासी दिवसको अवसरमा मंगलबार नेपाल आदिवासी जनजाति महासंघले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपीको संरक्षणका लागि सरकार गम्भीर रहेको बताएका हुन् ।

‘विभिन्न सूचीकृत आदिवासी, जनजातिहरुको जीवित मातृभाषाहरु छन् । ती सबै अमूल्य भाषा, संस्कृति, लिपीको संरक्षण गर्नु राज्यको दायित्व हो । यसतर्फ सरकार गम्भीर छ’, उनले भने ।

प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरुको हकहितको संरक्षण तथा संवद्धनका लागि आफू सधैं प्रतिवद्ध रहेको पनि बताए । उनीहरुलाई राज्यको मूलधारमा ल्याई कुनैपनि किसिमको अवसरबाट वञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने उनले बताए ।

‘नेपालका आदिवासी जनजातिहरुको हकहितका संरक्षण, संवद्र्धन तथा सांस्कृतिक पहिचानको सवालमा म सदा प्रतिवद्ध रहने छु । आदिवासी जनजातिको पहिचानलाई संरक्षण गर्दै उनीहरुलाई राज्यको मूलधारमा ल्याई कुनैपनि किसिमको अवसरबाट वञ्चित हुन नदिन हामी सबैले मिलेर कार्य गर्न आवश्यक छ’ देउवाले भने । उनले आदिवासी जनजातिको परम्परागत सीप र कौशल नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।