पर्यटन

आज ४२ औँ विश्व पर्यटन दिवस, ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै उत्साह


काठमाडौँ – आज ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिक उपस्थितिमै सहभागी भएर दिवस मनाउन लागिएको छ ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवस मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ । पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरका अनुसार बोर्डको हलमा औपचारिक समारोह हुँदैछ ।

सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह छाएको छ । सीमा नाका खोल्ने र क्वरेण्टीनको व्यवस्था पनि हटाउने व्यवस्था मिलाएको छ । यसले महामारीबाट थलिएको पर्यटन क्षेत्र चलायमान हुने वातावरण बनेको छ । कोभिड महामारीले पछिल्ला दुई वर्षमा पर्यटन क्षेत्र ठप्प जस्तै रह्यो । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।