राजनीति

आज सर्वदलीय बैठक बस्दै, एमालेको सहभागिता अनिश्चित


काठमाडौँ — स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि बोलाइएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहँदै आएको थियो ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरुसँग पनि छलफल गरेका थिए ।

यता सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग पनि छलफल गर्ने भएको छ । स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।