प्रदेश–१

आज पनि माओवादी केन्द्रद्वारा प्रदेश सभा अवरुद्ध


काठमाडौँ – प्रदेश नम्बर–१ मा आइतबार पनि प्रदेशसभा बैठक अवरुद्ध भएको छ । विपक्षी दल नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले सदन सुरु हुनासाथ आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सोमबारसम्मको लागि बैठक स्थगित गरिएको छ ।

माओवादीका सांसद मोहन खड्काले बजेट र कार्यक्रमको विषयमा उठाएको जिज्ञासाको जवाफ दिने क्रममा भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ अमर्यादित ढंगले प्रस्तुत भएकोले माफी माग्नुपर्ने मागसहित माओवादीले बैठक अवरुद्ध गर्दै आएको छ । योसहित लगातार तीनवटा बैठक अवरुद्ध भएको हो ।

मन्त्री गुरुङले सांसद खड्कालाई ‘भिजन नभएको नेता’ भन्दै सभामुखले चारपटकसम्म ‘रुलिङ’ गर्दा समेत मानमर्दन हुने गरी प्रस्तुत भएका थिए । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सदन खुलाउने सम्बन्धमा सरकारले वार्ता र छलफलको लागि चासो नदिएको बताए ।