Breaking

आगामी आर्थिक वर्ष : कर्णालीमा बजेट फालाफाल



काठमाडौँ — संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा यो पटक कर्णालीका धेरै योजना समेटिएका छन् । केही पुराना योजनालाई निरन्तरता दिइएको छ भने केही नयाँ योजना छन् । विशेषगरी कर्णालीको कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार क्षेत्रलाई समेटेर बजेट आएको कर्णालीका सरोकारवालाहरूले बताउने गरेका छन् ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निर्देशक दीपा हमालका अनुसार संघ सरकारको बजेटमा अहिले जति प्राथमिकता कर्णालीलाई दिइएको छ, त्यो इतिहासकै अभूतपूर्व छ । उनले कार्यान्वयनको पाटोलाई भने ध्यान दिनुपर्ने बताइन् । कर्णालीमा रैथाने बालीको संरक्षण गरी कृषिलाई आधुनिकीकरण गर्ने विषयलाई बजेटले समेटेको छ भने कर्णालीका हिमाली जिल्लामा स्याउ उत्पादनकर्ता किसानलाई अनुदानको व्यवस्था, सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने विषय पनि बजेटमा उल्लेख छ ।

कर्णाली समृद्धि कार्यक्रम अन्तर्गत जुम्लाको सिंजा उपत्यकामा एकीकृत विकास कार्यक्रम, सुर्खेत र जाजरकोटमा रहेको किम्मती तथा अर्धकिम्मती पत्थर उद्योग सञ्चालन एवं निर्माण गर्ने, कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि विभिन्न योजना बजेटमा उल्लेख छन् । मुगुको पर्यटकीय क्षेत्रको विकासका लागि बजेट छुट्याइएको छ भने रारा, से–फोक्सुण्डो लगायतका पर्यटकीय क्षेत्रलाई विकास गर्ने योजना सरकारले बजेटमा समेटेको छ ।