विदेश

अष्ट्रेलियाको अनिश्चित सिमाना नीतिले अन्तर्राष्ट्रिय विद्यार्थीहरु फेरि अन्योलमा


काठमाडौँ – यसअघि अन्तर्राष्ट्रिय विद्यार्थी र विदेशीहरुका लागि सिमाना खुलाउने घोषणा गरेको अष्ट्रेलियाले नयाँ ओमिक्रोन भेरियेन्टको प्रकोपपछि फेरि आफ्नो निर्णय बदलेको छ । यसले अझै केहि समयका लागि सिमाना खुलाउने कार्य स्थगित गरिने बताएको हो ।

यो खबरले विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थीहरु अन्योलमा परेका छन् । नेपाली विद्यार्थीसमेत यो निर्णयले निकै ठूलो मारमा परेका छन् ।

भारतको गुणगाउँकी १८ वर्षीया छात्रा दिशालाई यतिबेला आफूले बाहिर पढ्नका लागि अष्ट्रेलिया छनोट गरेकामा पछुतो लागिरहेको छ । २० महिनादेखि बन्द सिमाना अन्ततः खुल्ने खबरले खुसी भएकी उनी डिसेम्बरको अन्त्यतिरै जाने तयारी गरेकी थिइन् । तर अब फेरि उनले चिन्ता र स्ट्रेसमै समय गुजार्नुपर्ने भएको बताउँछिन् ।

उनले अलजजीरासँग कुरा गर्दै भनिन्, “उनीहरुले डिसेम्बर भरि नखुलाउन पनि सक्छन् । यो अत्यन्तै निराशाजनक खबर हो । ”

उनी युनिभर्सिटी अफ मेल्बर्नमा साइकोलोजी विषयमा अध्ययन गरिरहेकी छन् र उनका अनुसार धेरै साथीहरुले यसै हप्ताका लागि निर्धारित फ्लाइट रद्द गर्नुपरेको छ । यसका साथै टिकट अत्यन्तै महङ्गो भएको समेत उनले बताइन् ।

उनी भन्छिन्, “सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको मद्दत गर्ने कुनै उद्देश्य छैन र एयरलाइन्सहरुले पनि विद्यार्थीका लागि भनेर कुनै तरिकामा छुट दिँदैनन् । ”

दिशा ती १ लाख ३० हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा पर्छिन् जो गत मार्चदेखि नै अष्ट्रेलिया प्रवेश गर्न आतुर छन् । यसमा कतिले आफ्नो छनोट समेत बदलिसकेका छन् भने कतिले चाहिँ घरैबाट अनलाइन पढ्न सुरु गरिसकेका छन् । यसरी अष्ट्रेलियाले फेरिपनि सिमाना खुलाउने निर्णय स्थगित गरेपछि विद्यार्थीहरु पुनः आक्रोशित र चिन्तामा परेका छन् ।

अर्की छात्रा केरेन गान चाहिँ चीनमा आफ्नो घरैबाट अनलाइन कक्षा पढिरहेकी छन् र अष्ट्रेलिया खुल्ने पर्खाइमा छन् । यसमा उनले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनप्रति भरोसा नै उठिसकेको बताइन् ।

उनी भन्छिन्, “अष्ट्रेलिया सरकारले अचानक मनलागी निर्णय लिइरहेको छ । २०२० को समाचार अनुसार छिटो ढिलो जहिले भएपनि अष्ट्रेलिया जान पाइने भनिएको थियो । तर अब सबै कुरामा ढिलाइ मात्र भइरहेको छ । मलाई कसैमाथि विश्वास लाग्न छाडिसक्यो । आफ्नो निर्णयबारे म आफैँ अन्योलमा छु । सायद चीनमा बस्नुनै उचित छनोट हो कि । ”

अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलिया विश्वकै तेस्रो सबैभन्दा लोकप्रिय गन्तव्य रहँदै आएको थियो । तर महामारी पश्चात् यसमा धेरै परिवर्तन आएको छ । त्यहाँको शिक्षा क्षेत्रले मात्र देशको अर्थतन्त्रमा २०१९ सम्म ३७.९ अर्ब अष्ट्रेलियन डलर र झन्डै तीन लाख रोजगारीमा योगदान पुर्याइरहेको थियो । तर दुई वर्ष लगातार सिमाना बन्द रहनुले आम्दानीमा २८ प्रतिशत गिरावट आएको छ । अगस्टमा मात्र विशेषगरी चीन, भारत, नेपाल र भियतनामबाट आउने विदेशी छात्रहरुको सङ्ख्यामा २०१५ पछिकै ठूलो गिरावट देखिएको थियो ।

उता अमेरिका र बेलायतले चाहिँ अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई स्वागत गर्न थालिसकेका छन् ।

मेल्बर्नको युनिभर्सिटीका प्रोफेसर क्रिसका अनुसार अहिलेको अवस्था नै अनिश्चित भएकाले पनि अष्ट्रेलिया सरकारले कुनै प्रतिबद्धता जनाउन सकिरहेको छैन ।

‘अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया’ का प्रमुख ओस्कर ओङ भन्छन् सरकारले त्यहाँ विदेशी छात्रहरुलाई केबल पैसा ल्याउने गाई जस्तो व्यवहार गरिरहेका छन् । त्यसैले आगामी दिनहरुमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग पनि आफ्ना नागरिक समान व्यवहार गरोस् भन्ने सबैको अपेक्षा रहेको उनले बताए ।
अलजजीराबाट साभार