मौसम

अविरल वर्षाका कारण देशभर जनजिवन प्रभावित, धेरै राजमार्ग अवरुद्ध


काठमाडौँ – आइतबार रातिदेखिको अविरल वर्षाका कारण जनजिवन प्रभावित भएको छ । गएरातिदेखि परेको भारी वर्षाका कारण काठमाडौँको धोबी खोला कोरिडोर आसपासका क्षेत्रमा डुबान परेको छ भने बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ ।


डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ । पुलबजारका केही घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै, कोटेश्वर तिनकुने सडकमा पनि पानी जमेर यातायत आवतजावतमा समस्या भएको छ ।