Breaking

अर्घाखाँचीको शितगंगाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी


काठमाडौँ — शितगंगा नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार छविलाल पौडेल र उपमेयरमा एमालेकी गीता भाट विजयी भएका छन् । पौडेलले एमाले उम्मेदवार बसन्त श्रेष्ठलाई १ सय ८६ मतान्तरले पराजित गरे ।

मेयरमा निर्वाचित पौडेलले १० हजार ७८ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी श्रेष्ठले ९ हजार ८ सय ९२ मत ल्याएका थिए ।

उपमेयरमा निर्वाचित एमालेकी भाटले गठबन्धनबाट माओवादीका उम्मेदवार टीका रेश्मीलाई २ हजार २ सय ३१ मतान्तरले पराजित गरिन् । भाटले १० हजार २ सय ८८ मत ल्याएर नगर उपमेयरमा उपप्रमुखमा विजयी भइन् । रेश्मीले ८ हजार ५७ मत ल्याएका थिए ।

श्रेष्ठ २०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट नगर प्रमुखमा उम्मेदवार थिए । त्यतिबेला कांग्रेस–माओवादीको गठबन्धनका उम्मेदवार कांग्रेसका सूर्य अधिकारीसँग पराजित भएका थिए । भाट पनि अघिल्लो चुनावमा माओवादीका टीका रेश्मीसँग पराजित भएकी थिइन् । यसपाली भाटले रेश्मलाई फराकिलो मतान्तरले पराजित गरिन् ।

नगरको १४ वडा मध्ये एमालेले शितगंगाका वडा नम्बर ६, ७, ९, १०, ११, १२ र १३ का अध्यक्ष जितेको छ । गठबन्धनबाट कांग्रेसले वडा १, २, ३, ४, ५ र १४ का अध्यक्ष जित्यो भने माओवादीले वडा नम्बर ८ को अध्यक्ष जितेको छ ।