राजनीति

अमेरिकासहित १० राजदूतलाई देश निकाला


काठमाडौँ – टर्की सरकारले टर्कीमा रहेका १० मुलुकका राजदूतलाई देश निकाला गर्ने तयारी गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका हुन् ।

राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, नेदरल्यान्डस, न्युजिल्यान्ड, नर्वे र स्वीडेनका राजदूलाई पर्सन नन ग्रेटा घोषणा गरेका छन् । यो एउटा कूटनीतिक शब्दावली हो जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको कुनै राजदूतलाई पर्सन नन ग्रेटा घोषणा गरेपछि उ सम्बन्धित देशको दूतावासमा अयोग्य ठहर हुन्छ । पर्सना नन ग्राटाले व्यक्तिको कूटनीतिक दर्जा हटाउन सक्छ र उनीहरुलाई दिएको मान्यता फिर्ता हुन्छ ।

यसअघि टर्कीस्थित दश देशका राजदूतले एउटा संयुक्त विज्ञप्ति जारी गरेर टर्कीका ओसमान काभालाको तत्काल रिहाइको माग गरेका थिए । सरकारको विरोध र कु प्रयास गरेको आरोपमा काभाला चार वर्षदेखि कारागारमा छन् । तर, उनीमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएका छैनन् न त अदालतले नै उनलाई दोषी ठहर गरेको छ ।

काभालालाई रिहा गर्न मानवअधिकारसम्बन्धी युरोपेली अदालतको आदेश पालना गर्न युरोपको मानवअधिकार सम्बन्धी निकाय काउन्सिल अफ यूरोपले अन्तिम चेतावनी दिएको थियो । शनिवार एउटा समूहलाई सम्बोधन गर्दै एर्दोगानले कूटनीतिक हैसियत नभएका राजदूत विदेश मन्त्रालय पुगेर आदेश दिन नपाउने धारणा व्यक्त गरे । उनले भने, ‘विदेश मन्त्रालयलाई मैले आवश्यक निर्देशन दिइसकेको छु, १० राजदूतलाई प्रसना नन ग्रेटा घोषणा गरिएको छ, तपाईहरु तत्कालै देश छोड्न सक्नुहुन्छ ।’