Breaking

अपमानजनक नाम राखिएको भन्दै सच्याइदिन वडाध्यक्षले दिए निवेदन


काठमाडौँ — राक्सिराङ गाउँपालिका–८ का वडाध्यक्ष युसाई प्रजाले नागरिकता बनाउँदा नै अपमानजनक नाम राखिएको भन्दै नाम सच्याइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिएका हुन् । युसाई नाम अपमानजनक भएको उनले बताए । चेपाङ भाषामा युसाईलाई मुसासँग जोडेर बुझिन्छ । वडाध्यक्षले आफ्नो नाम अपमानजनक रहेको भन्दै गाउँमा अर्कै नाम बताउने गरेका छन् । उनलाई हाबिल भनेर चिनिन्छ । वडाध्यक्ष युसाईले आफ्नो नागरिकताको नाम सच्याइदिन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई भेटेर अनुरोध गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले नाम सच्याउन सकिने बताएपछि उनले निवेदन दिएका हुन् । वडाध्यक्ष युसाईले पहिला आफ्नो नाम सच्चिएर आएपछि गाउँमा अपमानजनक नाम भएका स्थानीयको खोजी गरेर प्रशासनमा नाम परिवर्तनका लागि आफूले भूमिका खेल्ने बताए ।

मकवानपुरका चेपाङ समुदायमा कुई ९कुकुर०, चाकमाया, पिलो, कामी, सार्की जस्ता थुप्रै अपमानजनक नामहरू राखेर नागरिकता बनाएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले बताए ।