Breaking

फिल्म हल खुलेपछि चलचित्रकर्मी उत्साही, दर्शक तान्ने छैन योजना


काठमाडौँ – कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको चलचित्र भवनहरु स्वास्थ्य मापदण्ड पालना गर्दै खुल्न पाउने भएका छन् । सरकारले तत्कालका लागि उपत्यकाभित्रका फिल्म हलहरु खुलाउने निर्णय गरेसँगै चलचित्रकर्मीहरु दर्शकमाझ जाने तयारीमा जुटेका छन् ।

कोरोना महामारीसँगै मुलुकमा जारी लकडाउनका कारण विगत डेढ वर्षदेखि ठप्प रहेको चलचित्र क्षेत्र हलहरु खुल्ने भएसँगै उत्साहि बनेको छ । कोरोना संक्रमणको दर पूर्ण रुपमा नघटे पनि संक्रमितको संख्या तुलनात्मक रुपमा कम हुँदै गएको र क्रमश नागरिकमा खोपको पहुँच पुगेकोले सरकारले देशभर लकडाउन खुकुलो पर्दै जाने भएको छ । यसैक्रममा बुधबार उपत्यकाका तीन जिल्ला प्रशासन कार्यलयहरुले झन्डै दुई वर्षदेखि बन्द रहेको चलचित्र भवनहरु बिहिबारबाट खोल्न अनुमति दिएको छ । प्रशासनको यो निर्णयलाई फिल्मकर्मीले स्वागत गरेका छन । लामो समयदेखि चलचित्र उद्योग पुनः सञ्चालनमा आउने भएपछि सरोकारवालाहरु दर्शकलाई हलसम्म ल्याउन आन्तरिक तयारीमा समेत जुटेका छन ।

लामो समयदेखि हलहरु पूर्ण रुपमा बन्द भएका कारण आन्तरिक व्यवस्थापनमा केही समय लाग्छ । आजको भोलि फिल्म हल चलाउन नसकेपनि भदौको अन्तिम सातापछि दर्शकले हलमा नै गएर चलचित्र हेर्न पाउने वातावरण बनाउने चलचित्र वितरक तथा हल सञ्चालकहरुको दावी छ ।

चलचित्रमा गरेको लगानीको नाफा नोक्सान कति दर्शकले चलचित्र हेरे भन्नेमा भर पर्छ । दर्शकलाई हलसम्म पु¥याउन प्रचार प्रसार नै मुख्य माध्यम हो । त्यसैले तत्काल हलमा करडौं लगानी गरेका चलचित्र पठाउन नसकिने कतिपय निर्माताहरुको तर्क छ । ठुलो लगानीमा बनेको चलचित्र प्रर्दशन गर्न साथै चलचित्र क्षेत्रको पुर्नउत्थानका लागि सरकारले नीतिगत रुपमा सहुलियत प्रदान गर्नुपर्ने उनीहरुको माग छ ।

कोरोना महामारीका कारण समग्र क्षेत्र प्रभावित पक्कै बनेको छ । यसबाट मनोरञ्जन क्षेत्र पनि अछुतो छैन । लामो समय बन्द चलचित्र क्षेत्र चलायमान बनाउनका लागि उपत्यकाका जिल्ला प्रशासनले गरेको निर्णय स्वागत योग्य पक्कै छ । यद्यपि कोरोनाको त्रास अझै पनि आम मानिसमा कायमै छ । कतिपयले हल खुलाउने निर्णयको आलोचना समेत गरिरहेका छन् । विदेशी चलचित्रमा निर्भर नेपाली चलचित्र उद्योग कोरोना महामारीले थप संकटमा पु¥याएको छ । यस्तो अवस्थामा कसरी हलसम्म दर्शक तान्न सकिन्छ ? कसरी नेपाली चलचित्र क्षेत्र र कलाकारहरुलाई पुनर्रस्थापना गर्न सकिन्छ ? भन्नेमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।