Breaking

स्वास्थ्यकर्मी नै संक्रमित हुनथाले, सेवा प्रवाहमा समस्या (भिडियोसहित)


कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै अस्पतालमा संक्रिमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरू समेत ठूलो संख्यामा संक्रमित बनेका छन् । तीव्र गतिमा फैलिरहेको संक्रमण नियन्त्रणको प्रभावकारी पहल नभए सेवा प्रवाहमा समस्या हुने देखिन्छ ।

नेपालमा पनि कोरोना संक्रमणदर बढेसँगै अस्पतालमा कोभिड–१९ का संक्रमितको भर्नादर बढेको छ । गत साताभन्दा दोब्बरले संक्रमित अस्पतालमा भर्ना भएका छन् । शिक्षण अस्पतालमा कोभिड वार्डमा ४० जना उपचाररत रहेका छन् । सर्वसाधारण मात्र नभएर काठमाडौँका विभिन्न अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीहरू समेत संक्रमित बनिरहेका छन्  । वीर अस्पतालमा ३५, टिचिङ अस्पतालमा ६५, पाटन अस्पतालमा २५, टेकु अस्पताल ४, नेपाल प्रहरी अस्पतालमा १०, सशस्त्र प्रहरी अस्पतालमा ४ स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएका छन् ।

खोप अभियानमा सहज र व्यवस्थित वितरण नहुँदा संक्रमणको जोखिम झन् बढेको छ । खोप लगाइरहेका सीमित ठाउँमा सर्वसाधारणको चाप छ । यसले संक्रमणबाट जोगिन खोप लगाउन जाने नागरिक उल्टै संक्रमित भएर फर्किने जोखिम पनि बढाएको छ  । अहिले स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सेवा प्रवाहमा समस्या आउने जोखिम बढेको चिकित्सक बताउछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि भर्ना भएका १२ मध्ये तीन जनालाई सघन उपचार कक्ष (आइसियु)मा अक्सिजन दिई उपचार गरिएको छ । नौ जना (एचडीयु)मा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको चिकित्सकहरु बताउछन् । सक्रमितलाई अक्सिजन नचाहिए पनि अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लाण्ट अस्पतालले तयारी अवस्थामा राखिएको टेकु अस्पतालले जनाएको छ ।

ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सक्रामक दर गुणात्मकरुपमा फैलिने बताइएको छ । ओमिक्रोनले कोरोना खोप लगाएका या नलगाएका दुवैलाई संक्रमित बनाउन सक्छ । त्यसैले अहिले संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्नु आवश्यक छ ।