Breaking

सिन्धुपाल्चोकको बाढी प्रभावितलाई काठमाडौँ महानगरले २ करोड सहयोग गर्ने


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौँलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् ।

मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्‍याएको छ ।