Breaking

सात वर्षसम्मको मेहनतको कमाई बोकेर श्रीमति फरार


काठमाडौँ – सिन्धुपाल्चोक बलेफीका कुमार सुनारले जीवनमा यति धेरै दुःख संघर्ष गरे, जुन बेहिसाब छ । सात वर्ष साउदी कतारको मरभूमिमा रगत पसिना एक गरेर पैशा कमाए । कमाएको पैशा श्रीमतीलाई पठाए । उनैले कमाएको पैशाले नेपालमा जग्गा जोडियो, घर जोडियो, सुन चाँदी जोडियो । तर जब उनी नेपाल आए, उनको घरमा ताल्चा लागेको थियो । सुनचाँदी, नगद, घरका सरसामान त परेको कुरा, घरमा पत्नी इश्वरी बोगटी समेत थिइनन् ।

४५ वर्षका कुमारले ४६ वर्षकी इश्वरीसँग ६५ सालअघि नै विवाह गरेका थिए । उनीहरुको विवाह दर्ता चाहिँ ७५ सालमा भएको थियो । पहिलो विवाह सफल नभएपछि कुमार एकल जीवन बिताइरहेका थिए । ईश्वरीका पतिको पनि देहान्त भइसकेको थियो । एक छोरी र एक छोरा हुर्काउनु पर्ने जिम्मेवारी इश्वरीको काँधमा थियो । कुनै इलम, व्यवसाय, रोजगारी नभएका कारण इश्वरीलाई कसैको सहारा चाहिएकै थियो । कुमारले सोचे यिनको पनि कोही रहेनछ । म पनि एक्लै छु । सँगै जीवन चलाउनु पर्ला । कुमारले इश्वरीलाई साथ दिने भए । इश्वरीका दुई छोराछोरीको जिम्मेवारी आफैंले बहन गर्ने पनि भए । कुमारले नेपालमा र साउदी कतारमासमेत दिनरात नभनी काम गरे । राम्रै पैशा पनि कमाए । कुमारको कमाईको भरमा इश्वरीले आफ्ना छोराछोरी पढाइन् । छोरीलाई अष्ट्रेलिया नै पठाइन् । आफ्ना तत्कालका आवश्यकता पनि पूरा गरिन् ।

तर जब कुमार गएको वर्ष नेपाल फर्केर आफ्नो घर पुगे, घरमा ताल्चा झुन्ड्याइएको थियो । पत्नी कहाँ छिन् उनले थाहा पाएनन् । घरमा एउटा कोठा भाडामा दिइएको रहेछ । भाडामा बस्नेलाई इश्वरीले घरको चाबी दिएकी रहिछन् । ताला खोलेर हेर्दा सरसामान समेत केही थिएन । राम्रो खालको तन्ना समेत इश्वरीले पोको पारेर हिँडेको देखेपछि कुमार निराश भए ।
कुमारले श्रीमतीको सोधिखोजी गरे । पत्तो पाउन सकेनन् । डेरामा बस्नेहरुले ‘आन्टी आक्कल झुक्कल मात्रै आउनु हुन्छ’ भन्ने खबर दिए ।
कुमारको पेशा सवारी चालक हो । उनी नेपालमा हुँदा आफैंले गाडी किनेर व्यवसायीको रुपमा पनि काम गर्थे । विदेशमा गएपछि कम्पनीको गाडी चलाउन थाले । कतारमा कतार एअरवेजमा काम गर्न थालेपछि उनले साँखुमा १२ आना जति जमिन जोडे । त्यो जमिन इश्वरीकै नाममा राखिदिए । त्यही जमिनमा घर बनाए । घर पनि इश्वरीकै नाममा पास भयो । आफै्ंले चढ्ने मोटरसाइकल पनि कुमारले पत्नी इश्वरीकै नाममा राखिदिए ।

कुमारले इश्वरीलाई विश्वास मात्रै होइन, अथाह माया पनि गर्थे । माया अहिले पनि उत्तिकै छ तर इश्वरीले उनलाई छाडी सकिन् । विदेशमै हुँदादेखि नै इश्वरीले कुमारसँग डिभोर्स माग्न थालिसकेकी थिइन् । कुमारले ‘लोग्ने टाकुई’ भनेको, काट्छु मार्छु भनेर धम्की दिएको जस्ता आरोप लगाएकी छिन् । विदेशमा हुँदा फोनबाट धेरै तनाव दिएपछि आवेगमा हाएर बेलाबखत त्यस्तो शब्द बोलेको कुमारले पनि स्वीकार गरेका छन् ।

जीवनभरको कमाइबाट किनेको जमिन, जोडेको घर इश्वरीको नाममा छ । विदेशमा छँदा कुमारले जति कमाए सबै इश्वरीलाई नै पठाए । साउदी कतारमा सुन सस्तो हुने भएकोले उनले पटक पटक त सुन पनि पठाए । कुमार विदेशमै हुँदा यता इश्वरीले वलम्वु महिला सेल, कालीमाटी महिला सेलमा उजुरी दिइछन् । कुमार नेपाल आएपछि चौकीमा दुवै पक्षलाई बोलाइयो । दुवै पक्षले आ आफ्नो कुरा राखे । दुवै पक्षको कुरा सुनेपछि प्रहरीले कुमारको सोझोपनका कारण दुःख पाएको निष्कर्ष निकाले । तर उनीरुले धन सम्पत्ति लेनदेन, सम्बन्धविच्छेद जस्ता मामिला आफूहरुले मिलाउन नसक्ने भएकोले अदालत जानू भन्ने सल्लाह दिए ।