राजनीति

समाज परिवर्तन गर्छौ भन्नेहरु नै जुवा खालबाट पक्राउ, के हुन्छ सजाय ?


काठमाडौँ — कानुनतः जुवातास खेल्न पाइँदैन । तर, चाडपर्वको बेला जुवातास खेल्ने धेरै पक्राउ पर्छन । प्रहरीले विषेश निगरानी राखेर जुवाडेलाई पक्राउ गरेपनि न्यूनिकरण हुन सकेको छैन् ।

कानुनले निषेध गरेको जुवातास चाडपर्वको बेला ठूलो मात्रामा आयात हुन्छ । वर्षमा करोडौँ रुपैयाँको तास आयात हुने गरेको छ । जुवा ऐनमा जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी बाजी थापी खेलेको खेल भन्ने सम्झनु पर्दछ भनिएको छ । आयातमा कडाइ गरेको देखिदैन तर जुवाडेलाई भने प्रहरीले दैनिकजसो पक्राउ पर्छ । समाज परिवर्तनका लागि हिडेका भनिएका नेता समेत जुवा खालबाट पक्राउ पर्न थालेका छन् । प्रहरीले जुवातास खेल्ने र खेलाउने दुबैलाई पक्राउ गर्ने गरेको छ ।

काठमाडौँ उपत्यकाबाट मात्रै दशैँतिहारको बीचमा २०९ जुवाडे पक्राउ परेका छन् । तिहारको तीन दिनमा मात्रै ४० जुवाडे पक्राउ परेका छन् । जुवाताससहित १२ लाख ३९ हजार ३ सय रकम पनि प्रहरीले बरामद गरेको छ ।

तास खेल्ने र खेलाउनेलाई अधिकतम एक वर्षसम्म कैदको व्यवस्था छ । प्रहरीले जुवातास नियन्त्रणका लागि विशेष अभियान नै संचालन गर्ने गरेको छ । कतिपयले रमाइलोका लागि र कतिपयले मोटो रकमकै लागि जुवातास खेल्ने गरेका छन् । तास खेल्ने र खेलाउनेलाई प्रहरीले पक्राउ गर्दै आएपनि विक्री वितरण भने खुलमखुला भइरहेको छ ।

२०७५ भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवातास खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ । संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ । तर, पनि जुवातास खेल्ने खेलाउने क्रम नघटेको तथ्यांकले देखाउँछ ।