Breaking

बलात्कार अभियोगमा पक्राउ परेका दुई प्रशिक्षक जेल चलान


काठमाडौँ — बलात्कार अभियोगमा पक्राउ परेका विराटनगरका दुई जना कराँते प्रशिक्षक जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतले सोमबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । एक जना १९ वर्षीया छात्रालाई बेहोस पारेर पटकरपटक बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदी साउन ८ मा पक्राउ परेका थिए । मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो।

अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । बिहीबार सरकारी वकिल कार्यालय मोरङले उनीहरूविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको भएको थियो । कलेजका अनुशासन विभाग प्रमुखको कर्तुत( छात्रालाई बेहोस बनाएर पटक(पटक बलात्कार

मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अनुसार दुबैलाई जबरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गर्दै अभियोग दायर भएको थियो। दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग पनि गरिएको छ ।

आइतबार र सोमबारको थुनछेक बहसपछि उनीहरू जेल चलान भएका हुन् । विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । पीडित युवती सोही कलेजमा अध्ययनरत छात्रा हुन् ।