प्रदेश १ र बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै
योहो संवाददाता
- today2021-01-20 04:50:49
काठमाडौँ - प्रदेश १ र बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश १ को प्रदेशसभा अधिवेशन दिउँसो २ बजे तथा बागमती प्रदेशसभाको अधिवेशन दिउँसो ३ बजे आह्वान गरिएको छ । सत्तारुढ दल नेकपा विभाजन भएसँगै दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका छन् । यद्यपी दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेका अविश्वासको प्रस्ताव आजको बैठकमा पेश नहुने भएको छ । अविश्वासको प्रस्ताव विधि पु-याएर बैठकमा पेश गर्ने तयारी छ । यही अधिवेशनमा अविश्वासको प्रस्तावको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा पेस नहुने भएको छ । प्रदेशसभाको कार्यसूची तय गर्न हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्तावसम्बन्धी कार्यविधि निर्माण गरेर मात्रै अघि बढ्ने गरी निर्णय गरेको छ। बैठकले अविश्वास प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन ‘अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति’ गठन गर्ने निर्णय गरेको हो। सभामुख सानुकुमार श्रेष्ठका अनुसार समितिलाई बैठकले कार्यविधि पेस गर्न समयसीमा तोकिएको छैन।
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव पनि आजको प्रदेशसभा बैठकमा पेश नहुने सभामुख प्रदीपकुमार भण्डारीले बताए। बैठकका अन्य एजेण्डा कार्यव्यवस्था समितिले तय गर्नेछ । तर नेकपा ओली र प्रचण्ड–माधव समुहका प्रदेशसभा सदस्यहरु आजको बैठकमा आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा छन् ।
दुवै पक्षको संसदीय दलको बैठकले एक अर्कालाई निलम्बनको घोषणा गरेकाले तनाव हुने देखिएको हो । तत्काल अविश्वासको प्रस्ताव अघि नबढ्ने भएपछि ओली पक्षीय दुवै मुख्यमन्त्रीलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यलाई आफ्नो पक्षमा ल्याउने अवसर हुनेछ । दुवै प्रदेशमा कांग्रेस निर्णायक भएपनि उसले ठोस निर्णय नगरुन्जेल अविश्वासको प्रस्ताव अघि बढ्न कठिन देखिएको छ ।