Breaking

विश्व योग दिवस : जीवनका लागि योग किन अपरिहार्य छ ?


काठमाडौँ – हरेक वर्ष आजको दिनलाई योग दिवसको रुपमा मनाइदै आएको छ । व्यस्त जिवनशैली र खानपानका कारण मानसिक तथा शारीरिक समस्या हुन सक्छ । यस्तो अवस्थामा स्वस्थ जीवनका लागि योग किन अपरिहार्य छ ?

हरेक उमेर समूहका लागि योग आवश्यक हुन्छ । आजको भागदौडको जीवनमा त शारीरिक तन्दुरुस्तीको सहज उपाय योग नै हो । योगबाट मानसिक रोगदेखि दीर्घ रोगसम्म निको हुन सक्छ ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ ।

के छन् त योगका फाइदा ?
धेरैजसो मानिसका लागि आज योग विद्या केवल केही आसनहरूको संग्रहमात्र हो, जसको माध्यमबाट हामी शरीर स्वास्थ्य बनाइराख्न चाहन्छौं । ध्यानक्रियाहरूको मद्दतले हामी केही मानसिक विग्रहको उपचार पनि खोजी गर्छौं। त्यसैले योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँछ । तर सही तरिकाले नगरिएको योगले हामीलाई फाइदा भन्दा बेफाइदा गर्छ । तर उपयुक्त तरिकाले योग गर्न सकेका सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ ।

रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । बुढेसकालमा पनि जवान झै स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ।, मीठो निद्रा लगाउँछ, भोक जगाउँछ र पाचनप्रक्रियालाई सही ढंगबाट चलाउँछ । प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ। यसका साथै ध्यान पनि योगको महत्वपूर्ण अंग भएकाले ध्यानले एकाग्रता बढाउँछ, तनाव कम गराउँछ ।

नियमित योगाभ्यासले शरीरमा चिनी र कोलस्ट्रोलको मात्रा घटाउँछ । नियमित गर्न सके योगका आसन र ध्यानले बाथरोग, पछाडि दुख्ने ९ब्याक पेन० को समस्या कम गर्छ । महिलाहरूमा महिनावारीका बेला देखिने समस्या तथा गर्भवतीहरूले योग गर्दा पेट भित्रको बच्चालाई समेत फाइदा हुन्छ । ३्४ वर्षदेखि नै बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुने र शरीर पनि स्वस्थ हुन्छ ।

कसरी गर्ने योग ? ‍

सके सम्म विहानको समयमा योग गर्ने गर्नु पर्छ । अझ घाम झुल्नु भन्दा अगाडिको एक घण्टा र घाम झुल्किएपछिको एक घण्टा पछाडी योगका लागि उत्तम समय हो। यदि यो समयमा पनि योग गर्न सकिएन भने घाम अस्ताउनुभन्दा आधा घण्टाअघि र घाम अस्ताएको आधा घण्टापछि पनि उपयुक्त समय हो। सकभर मध्य दिनमा योग गर्नु हुदैन । सिधै घाम पर्ने ठाउँमा पनि योग गर्नु हुदैन ।

खाना खाइसकेपछिको दुई देखि तीन घण्टासम्म पनि योग गर्नु हुँदैन । यो बिचमा गर्दा पाचन प्रक्रिया बिग्रिएर अरु समस्या आउन सक्छ। योग स्वच्छ वातावरण भएको ठाउँमा गर्नु पर्छ। भान्छाकोठा वा धेरै होहल्ला हुने ठाउँमा पनि योग गर्नु त्यति राम्रो मानिँदैन। योगाभ्यास सकेसम्म नुहाएर गर्नु उत्तम हुन्छ । यो त योग गर्नु पुर्व ध्यान कुरा हो भने योग सुरु गर्दा सबै भन्दा पहिले ध्यानबाट सुरु गर्नु पर्छ । त्यसपछि शरीरलाई तताउने खालका अभ्यास गर्नु पर्छ । र विस्तारै अन्य अभ्यास गर्दै जानुपर्छ ।

योग गर्दा ध्यान दिनु पर्ने पक्ष–

आजभोलि धेरैले रोग लागि सकेपछि मात्र योगाभ्यास गर्ने गरेको पाइन्छ । वास्तवमा योग भनेको रोग लाग्नुभन्दा नलाग्दै स्वस्थ अवस्था देखि नै सुरु गर्नु पर्छ । तर योग गर्दा ध्यान दिनुपर्ने केही कुरा छन् ।

१० वर्षसम्मका बालबालिकालाई योगको आसन गराउँदा विशेष ध्यान दिनु पर्छ । यो उमेरका बालबालिकाको हड्डी एकदम नरम हुन्छन् । यस्तो बलामा योगका केही आसनहरूले हड्डी बाङ्गिने सम्भावना हुन्छ । त्यसैले पनि बालबालिकालाई योग गराउँदा ध्यान दिनु पर्छ ।

महिलाहरूले महिनावारी भएको बेलामा योग गर्दा विशेष ध्यान दिनु पर्छ। यस्तो बेलामा शरीरलाई झड्का दिने खालका अभ्यास, टाउको तल, खुट्टा माथि गर्नुपर्ने खालका आसन गर्नु हुँदैन ।

तनावमा भएको बेलामा पनि योग गर्नु उपयुक्त हुँदैन । तर यस्तो बेलामा ध्यान गर्नु राम्रो हुन्छ। तर तनावपूर्ण अवस्थामा योग अभ्यास गर्दा मांसपेशी दुख्ने, टाउको दुखाउने,जस्ता समस्याहरू देखा पर्न सक्छ ।

यस्तै महिलाहरूले गर्भवती भएको बेलामा योग गर्दा विशेष ध्यान दिनुपर्छ । गर्भ रहेको पहिलो तीन महिना र अन्तिमको तीन महिना विशेष ध्यान दिनु आवश्यक हुन्छ । गर्भवती महिलाले नाडीशोधन, चन्दभेदन, शितली प्राणायाम जस्ता अभ्यास गर्नु राम्रो हुन्छ। यसले नशाहरूलाई सफा गरी रक्तसञ्चार गर्ने,शरीरलाई हल्का र शान्त राख्न सहयोग गर्छ। गर्भवती महिलाले पेटलाई दबाब दिने खालका आसनहरू गर्नु हुँदैन । यसले बच्चालाई असर गर्ने सम्भावना हुन्छ ।

उच्चरक्तचाप, मधुमेह जस्ता दीर्घरोग भएकाहरूले पनि योग गर्दा ध्यान दिनु पर्छ । यस्ता मानिसहरूले धेरै परिश्रम लगाएर गरिने योग, शरीर तात्ने खालका योग अभ्यासहरू गर्नु हुँदैन । जस्तै प्रेसर भएकाहरूले कपालभाँती गर्दा ध्यान दिनुपर्छ । यस्तै चक्रासन गर्दा ध्यान दिनुपर्छ । यसले मुटुमा अलि प्रेसर दिने हुँदा मुटुलाई असर गर्छ ।

योगको प्रकार

योगको मूख्य चार प्रकार छन्- राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।

यसैगरी योगको आठ अंग छन् । यसैले पतन्जलीले यसलाई अष्टांग योग भनेका हुन् । यसबारे योगसूत्रमा पतन्जलीले उल्लेख गरेका छन् । यस आठ अंगमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि छन् ।

यमको अर्थ हो, अहिंसा, सत्य, अस्तेय, ब्रम्हाचर्य तथा अपरिग्रह । यम अर्थात जसको अनुष्ठानबाट मन वा इन्द्रिय अशुभबाट हटाएर शुभमा संलग्न हुन्छ ।

नियमको अर्थ हो, अनुशासित जीवनयापन । अर्थात सौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणिधान ।

आसनको अर्थ हो, स्थिर तथा सुखपूर्वक बस्ने क्रिया ।

प्राणायामको अर्थ श्वास प्रश्वासको गति अनुभूत गर्ने र नियन्त्रण गर्ने अभ्यास । नाडी साधन र त्यसको जागरणका लागि गरिने श्वास र प्रश्वासको नियमन नै प्राणायम हो ।

पत्याहारको अर्थ इन्द्रियलाई वशमा राख्नु हो ।

धारणाको अर्थ मनलाई एकाग्रत्ति गरेर कुनै विषयमा ध्यान केन्द्रित गर्नु हो ।

ध्यानको अर्थ विचारसून्य अवस्थामा रहनु हो ।

समाधिको अर्थ मोक्ष प्राप्त गर्नु हो ।