Breaking

विप्लव समूह फेरि द्वन्द्वको बाटोमा जाँदैन : प्रधानसेनापति थापा


काठमाडौँ – प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको बताउनुभएको छ ।
आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा उपलब्धि सार्वजनिक गर्दै प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको बताउनुभएको हो ।

प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल आगामी भदौ २४ मा सकिँदै छ । सामान्यतया प्रधानसेनापति अवकाशको एक महिना अघि बिदा बस्ने प्रचलन छ । अब प्रधानसेनापति बन्ने लाइनमा बलाधिकृत रथी प्रभुराम शर्मा हुनुहुन्छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति थापाले सेना राजनीतिक मुद्दाभन्दा टाढा रहने बताउनुभयो । उहाँले नेपाली सेना आफ्नो संवैधानिक दायित्वको अधीनमा रहेर अघि बढ्ने पनि स्पष्ट पार्नुभएको छ ।

प्रधानसेनापति थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारले वार्ताको वातावरण सिर्जना गरेपछि अहिले समूहले राजनीतिक धारमा आउने सम्भावना देखाएको छ,’ ।

थापाले भन्नुभयो , ‘विश्वास गरौं, यसले मूर्तरुप लिनेछ र नेपाली समाजलाई भविष्यमा द्वन्द्वको श्रृंखलामा अगाडि लैजानका लागि अगाडि बढ्ने छैन ।’ थापाले नेपाली जनताको चाहना र मुलुकको आवश्यकता पनि द्वन्द्व नभएको बताउनु भएको छ ।